बागलुङ/बागलुङ नगरपालिका–८ स्थित सिगानामा यस वर्ष झण्डै रु तीन करोडको सुन्तला उत्पादन भएको छ । उत्पादन बढेपछि यतिबेला त्यहाँका किसानलाई सुन्तला बिक्री गर्न चटारो भएको छ । सिगानामा पुसको दोस्रो हप्तासम्मको विवरणअनुुसार ७५ प्रतिशत सुन्तला बिक्री भइसकेको छ । ‘सुन्तला जोन’का रूपमा जिल्लामा आफ्नो परिचय बनाउँदै आएको यहाँका किसानले यसवर्ष सुन्तला बिक्रीबाट रु साढे दुई करोड बराबरको सुन्तला बिक्री गरिसकेका छन् भने अझै रु ५० लाखको सुन्तला बिक्री हुन बाँकी छ ।
गत वर्ष यहाँका किसानले सुन्तला बिक्रीबाटै रु दुई करोड ५० लाख भित्र्याएको वडा कार्यालयको तथ्याङ्क छ । यस वर्ष पनि सुन्तला बिक्रीको तथ्याङ्क सङ्कलन गर्न थालिएको जानकारी गराउँदै वडाध्यक्ष राजु कार्कीले सुन्तला बिक्रीकै चरणमा रहेकाले तथ्याङ्क सङ्कलनमा ढिलाइ भएको बताउनुभयो । उहाँले बिक्री लक्ष्यअनुसार रु तीन करोडको सुन्तला उत्पादन भएको बताउनुभयो । पोखराका व्यापारीले बोटमै ठेक्कामा खरिद गरेर सुन्तला लैजाने गरेका छन् भने साना व्यापारीले डोकोमा सुन्तला खरिद गरेर बजार पु¥याउने गरेका छन् ।
नयाँ सुन्तला बगैँचा बढिरहेकाले यहाँका किसानले वार्षिक रु ५० लाखका दरले सुन्तला उत्पादन वृद्धि हुने लक्ष्य लिएका छन् । सिगानामा १२ हजारभन्दा बढी सुन्तलाको बोटले उत्पादन दिइरहेको छन् भने १० हजारभन्दा बढी बोट उत्पादनको तयारीमा छन् । यहाँका किसान सुन्तलाका बिरुवामा समेत आत्मनिर्भर भइसकेका र आधा दर्जनभन्दा बढी सुन्तलाका बिरुवा उत्पादन गर्ने नर्सरी स्थापना भइसकेको यहाँका किसानले जनाएका छन् ।
सिगानामा पाँच वर्षअघिदेखि सुन्तलाखेती वृद्धिका लागि अन्य रुख फँडानी गर्ने अभियान वडा कार्यालयले चलाएको थियो । यहाँ अहिले सुन्तला प्रतिकिलो होलसेलमा रु ५० देखि रु ६० का दरले बिक्री भइरहेको छ । बोटबाटै सुन्तला खरिद गर्ने व्यापारीले सुन्तलाको दाना हेरेर एकमुष्ट बगैँचाको मूल्यमै सम्झौता गरेर सुन्तला टिप्न थालेका छन् ।
स्थानीय निकायमार्फत विगत पाँच वर्षयता २८ हजार सुन्तलाका नयाँ बिरुवा रोपिएको छ । वितरण गरिएको बिरुवाले अबको दुई/तीन वर्षपछि उत्पादन दिन थाल्नेछन् । सिगाना सुन्तला खेतीका लागि उपयुक्त हावापानी भएका कारण सुन्तला रोपेको तीन÷चार वर्षमै उत्पादन दिन थालेको सुन्तला कृषक तुलसी खड्काले जानकारी दिनुभयो ।
सिगानाको बेँसी, वडा कार्यालय क्षेत्र, बाँस्कोटलगायत स्थानमा अधिकांश जमिन सुन्तला खेतीले ढाकेको छ । सिगानामा उत्पादन भएका सुन्तला पोखरा, चितवन र बागलुङ बजारलगायत स्थानमा निर्यात हुने गरेको छ ।
यहाँकोे सुन्तला पोखराको बजारमा अत्यधिक माग हुने गरेको पोखराबाट बागलुङका सिगानामा सुन्तला खरिद गर्न आउनुभएका व्यापारी सोमबहादुर तामाङले जानकारी दिनुभयो । “सिगानाको सुन्तला बगैँचामै टिपेपछि ग्रेडिङ हुन्छ, एक क्यारेटको बढीमा रु आठ सयदेखि घटीमा रु तीन सयसम्म पर्दछ, सुन्तलाको दानाअनुसार पोखराको बजारमा मूल्य निर्धारण हुने भएकाले सुन्तलालाई ग्रेडिङ गरेर मात्रै बजारमा लैजाने गर्दछौँ”, उहाँले भन्नुभयो, “अहिले सुन्तलाको उत्पादन धेरै भएकाले बजार भाउ केही सस्तो छ, हामीले मङ्सिरदेखि माघसम्म गाउँगाउँ पुगी सुन्तला खरिद गरेर बजारीकरण गर्दै आएका छौँ ।” सिगानासँगै बिहुँ, तित्याङ, भकुण्डे, लेखानी, सर्कुवा र दमेकलगायत ठाउँ सुन्तलाखेतीका लागि उर्वर मानिन्छन् । जिल्लामा करिब पाँच हजार हेक्टरभन्दा बढी जमिनमा सुन्तलाखेती हुँदै आएको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।




