राज्यद्वारा बेपत्ता पारिएका सिम्पानीका तेजबहादुर भण्डारीको स्मरणमा २१ औं स्मृतिसभा भएको छ । सहिद तथा बेपत्ता प्रतिष्ठान, मस्र्याङ्दी गाउपालिका र सामाजिक न्याय समितिको आयोजनामा मस्र्याङदीको खुदीमा कार्यक्रम भएको हो । सहिद तथा बेपत्ता स्मृति प्रतिष्ठानका अध्यक्ष दया सागर घिमीरेको अध्यक्षता एवं मस्र्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको प्रमूख अतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमूख अतिथी गुरुङले सशस्त्र द्धन्दको क्रममा सहिद तथा बेपत्ता पारिएका व्यक्तीहरुकै त्याग र बलिदानीबाट मुलुकले अहिलेको उपलब्धी हासिल गरेको उल्लेख गर्नुभयो ।
जनताले चाहेको परिवर्तन र उपलब्धीका लागि ज्यान आहुति दिने सहिद र बेपत्ताभएका हरुप्रति राज्यले उचित सम्मान दिनुपर्ने अध्यक्ष गुरुङको भनाई थियो । सहिद तथा बेपत्ताहरुका लागि थोरै भएपनि मस्र्याङदी गाउँपालिकाले सम्बोधन गरेको अध्यक्ष गुरुङले उल्लेख गर्नुभयो । कार्यक्रममा मस्र्याङदी गाउँपालिका पुर्व उपाध्यउक्ष होमबहादुर विक, वडा नम्वर ७ का अध्यक्ष तिलबहादुर गुरुङ लगायतले सम्बोधन गर्दैै राज्यले अहिलेसम्म सशस्त्र द्धन्दका बेपत्ताहरुको बारेमा सत्यतथ्य सार्वजनिक नगरेकोमा गुनासो गरेका थिए ।
कार्यक्रममा बेपत्ता तेजबहादुर भण्डारीका छोरा एवं प्रतिष्ठानका सचिव विष्णु भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रतिष्ठानका सदस्य नविनराज कुईकेलले सहजिकरण गर्नुभएको थियो । तेजबहादुर भण्डारीलाई २०५८ साल पुस १६ गते जिल्ला प्रशासनमा तारिक बुझ्न जाँदा बेसीसहरको मनाङ्गे चौताराबाट तत्कालिन सेनाले पक्राउ गरि बेपत्ता बनाएको थियो । भण्डारीलाई तत्कालीन जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र आर्मी ब्यारेकले बेपत्ता पारेको परिवारको आरोप छ ।




