चितवन/ नेपाल प्रहरी शिक्षालय भरतपुरमा तालिममा रहेका प्रहरी अधिकृतहरुलाई लक्षित गर्दै पतञ्जली योग समितिको सहकार्यमा योग विज्ञान शिविर सञ्चालन गरिएको छ ।आइतबार विहान नेपाल प्रहरी शिक्षालय भरतपुरमा रहेका प्रहरीका लागि योग विज्ञान शिविर गरिएको हो । पतञ्जली योग समितिको सहकार्यमा गरिएको शिविरमा प्रहरी जवानदेखि डिआइजीसम्मको उपस्थिति रहेको थियो । कार्यक्रममा पतञ्जली योग समिति केन्द्रीय प्रभारी लवदेव मिश्रले योग प्रशिक्षण गराएका थिए । योगले मानिसलाई तन्दरुस्त बनाउनका साथै सकरात्मक सोँच दिने भएकाले प्रहरीलाई योग प्रशिक्षण दिईएको हो ।

योग शिविर ३ घण्टासम्म चलेको थियो । कार्यक्रमका प्रमुख अतिथि पतञ्जलीका संरक्षक पूर्व डिआईजी ज्ञानेन्द्र बहादुर मतले वर्षेनी देशभरका प्रहरीलाई यस्तो शिविरमा सहभागि गराउने लक्ष्य लिईएको बताए । उनले प्रहरी हेडक्वाटरसंग सहकार्य भइसकेको भन्दै यस्तो योग सबैका लागि आवश्यक रहेको बताए ।कार्यक्रममा पतञ्जली योग समिति चितवनका संरक्षक टंकनाथ पौडेल, धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिग्राम सापकोटालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम प्रहरी शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक (डिआइजी) सन्दिप भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।




