चितवन/भरतपुर महानगरपालिकाभित्र सञ्चालनमा रहेका पाँच सहकारीमा समस्या देखिएको छ । आर्थिक तरलताका कारण सहकारीमा समस्या देखिएको हो । भरतपुर महानगरपालिकाको सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख रामबाबु पौडेलका अनुसार भरतपुर महानगरको क्षेत्राधिकारभित्र रहेका तीन र क्षेत्राधिकार बाहिरका दुई सहकारीमा आर्थिक तरलताको समस्या देखिएको हो । महानगर क्षेत्राधिकारभित्र रहेको चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्था र समाज कल्याण बचत तथा ऋण सहकारी संस्थामा समस्या देखिएको छ । सनराइज बचत तथा ऋण सहकारी संस्थामा सञ्चालकको नियतका कारण समस्या आएको उहाँले जानकारी दिनुभयो । यस्तै प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहेको साहारा चितवन बचत तथा ऋण सहकारी र सहकारी विभागको क्षेत्राधिकारभित्र रहेको शुक्रपथ बचत तथा ऋण सहकारीमा पनि समस्यामा परेको जनाइएको छ ।

समाज कल्याण बचत तथा ऋण सहकारी संस्थामा वार्षिक रु ३५ करोड हाराहारीको कारोबार हुने गरेको थियो । पाँच हजार सदस्य रहेको सो सहकारीलेको प्रधान कार्यालय भरतपुर –१ मा रहेको छ । यसले दुई सेवा केन्द्रको अनुमति लिएको भए पनि एउटा केन्द्रबाट काम गर्दै आएको पौडेलले बताउनुभयो । सहकारीले साना बचतकर्ताको रकम फिर्ता गरिरहेको छ भने ठूला बचतकर्ताको रकम फिर्ता गर्न सकेको छैन ।
प्रदेश र सहकारी विभागको क्षेत्राधिकारभित्र रहेका दुई सहकारीको विवरण महानगरपालिकाको सहकारी तथा रोगार प्रवद्र्धन शाखासँग नहुने भएकाले कति बचतकर्ता प्रभावित भए भन्ने विषयमा जानकारी नभएको उहाँले बताउनुभयो ।
तरलताको अभावका कारण बचतकर्तालाई समयमा रकम दिन नसक्ने समस्या बढेसँगै महानगरपालिकाको क्षेत्राधिकारभित्र रहेका सहकारीले साधारणसभामार्फत समस्या समाधानका लागि काम गर्न लागेका छन् । महानगरमा हाल तीन सय ५४ सहकारी संस्था सञ्चालनमा छन् । तीमध्ये ४८ सहकारी संस्था निस्क्रिय रहेको उहाँले बताउनुभयो ।-रासस




