चितवन/भरतपुर ७ कृष्णपुरमा सम्पन्न प्रथम ढल्के जोवन सेभेन ए साइड फुटबलको उपाधि रड्स एफसी रामपुरले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा आयोजक पानस युवा क्लबलाई १-२ ले हराउँदै रामपुर विजेता बनेको हो । रामपुरको जितमा लक्षमण चौधरी र श्यामलाल महतोले गोल गरे । घरेलु टोली पानसका जित मगरले एक गोल फर्काए पनि हार टार्न सकेनन् । रामपुरका लक्ष्मण चौधरी म्यान अफ दि म्याच चुनिए ।
विजेता रामपुरले ट्रफीसहित ५० हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेतामा सीमित पानसले २५ हजार रुपैयाँ प्राप्त गरेको छ । रामपुरका लक्ष्मण चौधरी प्रतियोगिताभरको उत्कृष्ट खेलाडी घोषित । प्रतियोगिताभर आठ गोल गरेका पानसका जित मगर सर्वाधिक गोलकर्ता र पानसकै मनोज गुरुङ उत्कृष्ट गोलरक्षक घोषित भए । रामपुरका सुरेन पौडेल उत्कृष्ट डिफेन्डर चुनिए । उनीहरुले ट्रफीसहित नगद पुरस्कार प्राप्त गरे ।




