काठमाण्डौ/प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०८औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल हुनुभएको थियो ।

२००७ सालअघि नै भद्रगोल जेल फोरेर भागेका गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय हुनुभएको थियो । जेलबाट भागेर भारतमा पुगी उहाँले अर्का नेता वीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गर्नुभयो । केही सहयोगीका साथ २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन पनि गणेशमानको उल्लेखनीय भूमिका छ । प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उहाँले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गर्नुभयो ।
नेता सिंह देशमा प्रजातन्त्र बहाली र पुनःबहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले वीपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा रहनुभयो । उहाँ नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशील हुनुभयो । २०१५ सालमा पहिलो चुनाव भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री हुनुभएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दीगृहमा काराबास जीवन बिताउनुभयो ।
२०२५ सालमा वीपीसँगै सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि उहाँले प्रवासमा राजनीतिक सङ्गठन विस्तार गर्नुभयो । २०३३ सालमा वीपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाका विरुद्ध नेता सिंह सक्रिय रहनुभयो । तत्कालीन पञ्चायती सरकारले वीपीसँगै उहाँले मृत्युदण्डको माग गरिएका आठवटा मुद्दामा विशेष अदालतबाट सफाइ पाउनुभयो । गणेशमानले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । वीपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलनको नेतृत्व गर्नुभयो।
१९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको महत्त्वपूर्ण योगदान २०४६ सालमा रह्यो । जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान सिंह त्यो आन्दोलनका सर्वोच्च कमाण्डर भइ सबैको प्रिय बन्नुभएको हो । नेता सिंहलाई २०१७ साल पुस १ गतेको ‘कू’ पछि २०२५ सालसम्म वीपी कोइरालासँगै सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो । २०२५ सालमा जेलमुक्त भएपछि वीपीसँगै भारत निर्वासनमा जानुभएका नेताहरूलाई २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै गिरफ्तार गरी सुन्दरीजल बन्दीगृहमा दोस्रोपटक थुनियो ।
२०६१ साल भदौ २४ गते बन्दीगृहलाई वीपी सङ्ग्रहालयमा रुपान्तरण गरिएको थियो । गणेशमान जयन्तीका अवसरमा नेपाली कांग्रेस र यसका भ्रातृ एवम् शुभेच्छुक सङ्घसंस्थाले आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउने जनाइएको छ । यस अवसरमा गणेशमान सिंह प्रतिष्ठानले चाक्सीबारीमा उहाँका विषयमा लेखिएका पुस्तक विमोचन गर्ने कार्यक्रम राखेको छ ।




