भरतपुर/चितवन उद्योग संघको आयोजनामा गैर आवासीय नेपाली संघ (एनआरएनए)का पदाधिकारी एवम् सदस्यहरु र उद्योगीहरुबीच परिचयात्मक एवम् औद्योगिक प्रबद्र्धनका विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतामा सम्पन्न परिचयात्मक एवम् औद्योगिक प्रबद्र्धनका विषयमा छलफल कार्यक्रममा एनआरएनएका पदाधिकारी एवम् सदस्यहरु र उद्योगीहरुबीच विभिन्न देशहरुमा लामो समयदेखि व्यापार, व्यवसाय गर्दै आउनु भएका व्यक्तिहरुसँगै नेपाली उत्पादनको बजारलाई विदेशी बजारमा कसरी जोड्न सकिन्छ, विदेशी भूमीमा आर्जन गरेका सिपलाई नेपालमै कुन माध्यमबाट प्रयोगमा ल्याउन योगदान गर्न सकिन्छ लगायतका विषयमा छलफल गरिएको थियो ।

चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले स्वागतसँगै चितवन उद्योग संघले अघि सारेका महत्वपूर्ण परियोजनाहरु चितवन प्रदर्शनी केन्द्र, शक्तिखोर औद्योगिक क्षेत्र, भरतपुर–२९ जुरेथुम्काको प्रस्तावित औद्योगिक शिक्षालय र संघको गतिविधिहरुका बारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा.बद्री के.सी.ले हामीहरु जस्ता वर्षौदेखि बाहिरी मुलुकहरुमा आफ्नो दक्षता, सिपलाई प्रयोग गर्दै आएका नेपालीहरुलाई नेपालमै लगानी गर्ने वातावरण सिर्जना गर्ने खालको व्यवस्था सिर्जना गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा लगानी गर्ने सुरक्षित वातावरण नभएका कारण लाखौंको संख्यामा शिक्षित एवम् दक्ष जनशक्तिहरु पलायन हुने अवस्था आएको समेत बताउनुभयो ।
Advertisement




