कालिका / चितवन चितवन उद्योग संघको प्रस्ताव र पहलमा अघि बढिरहेको शक्तिखोर औद्योगिक क्षेत्रको नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रलयका प्रतिनिधि र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रतिनिधिहरु सहितको उपस्थितिमा चितवन उद्योग संघका पदाधिकारी तथा सद्स्यहरु र कालिका नगरपालिकाको तर्फबाट संयुक्त रुपमा स्थलगत अवलोकन गरिएको छ।

शक्तिखोर औद्योगिक क्षेत्रको नेपाल सरकारबाट विस्तृत परियोजना प्रस्ताव र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन समेत पास भैसकेको भएता पनि परियोजनाले गति लिन नसकिरहेको सन्दर्भमा परियोजनाका हालसम्मका प्रगती समीक्षा सहित अगाडि बढाउने सम्बन्धमा तत्काल गर्नुपर्ने कामहरु र वास्तविक वस्तु स्थितीको पहिचान गरि नेपाल सरकारलाई प्रतिवेदन पेश गर्नका लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उप सचिव भिम बहादुर कुबरको नेतृत्वमा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रिवाज भण्डारी , शाखा अधिकृत विकास चन्द्र शर्मा र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सहायक निर्देशक सुशील तिमिल्सिना,वरिष्ठ अधिकृत देव नारायण सापकोटा र अर्थशास्त्री जयकृष्ण दुलालको प्रतिनिधित्व रहेको टोली र कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मी र प्रमुख प्रशासकीय अधिकृत केशव उपाध्याय तथा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कडेलको नेतृत्वमा रहेको संघको पदाधिकारी तथा सदस्यहरुको टोलिले संयुक्त रुपमा स्थलगत अवलोकन गर्नु भएको हो।

स्थलगत अवलोकन पश्चात् टोलिले कालिका नगरपाकिकाको सभाहलमा छलफल तथा अन्तरक्रिया समेत गरेको थियो। कार्यक्रममा संघका पूर्व अध्यक्ष, शक्तिखोर औद्योगिक क्षेत्रका अभियान्ता एवम् बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष भेषराज दुवाडी, संघका उपाध्यक्षहरु सूर्य प्रसाद न्यौपाने, गजेन्द्र अधिकारी, युगराज वस्ती, मदन चिरञ्जीवी पोखरेल, कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल चितवन उद्योग संघ रत्ननगर इकाई समितिका अध्यक्ष गोविन्द प्रसाद खनाल, कालिका इकाई समितिका अध्यक्ष चन्द्र कान्त सुबेदी, कार्य समिति सदस्य पुरुषोत्तम रिजाल लगायतको सहभागिता रहेको थियो।
Advertisement




