भरतपुर/भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले वडा तहबाट जग्गा वर्गीकरणको समिति बनाएर महानगरमा बुझाउन सबै वडा अध्यक्षहरुलाइ निर्देशन दिनु भएको छ । जनताका समस्यालाई मध्यनजर गर्दै सबै वडाबाट जग्गाको बर्गिकृत र सुचिकृत गरि समिति निर्माण गरेर तत्कालै महानगरमा ल्याउन निर्देशन दिनु भएको हो । अटिजम केयर चितवन सोसाइटीको आयोजना तथा भरतपुर महानगरपालिकाको समन्वयमा समाबेशी शिक्षा परियोजनाका सम्बन्धमा वडा अध्यक्ष तथा सचिबहरु सग एक दिने अन्तरक्रिया कार्यक्रमलाई भरतपुर १८ चनौलिमा सम्बोधन गर्दै उप प्रमुख अधिकारीले पार्टी र आस्था भन्दा माथी उठेर जनताको सेवामा निरन्तर लाग्न पनि निर्देशन दिनु भयो । उहाँले हाल वडामा रहेका पुराना मेलमिलाप समितीलाई परिमार्जन गरि सबै वडामा ७ सदस्यीय मेलमिलाप समिती बनाउन पनि वडा अध्यक्षहरुलाई अपिल गर्नु भयो । साथै उप प्रमुख अधिकारीले प्रत्येक वडा वडामा वडा शिक्षा समिति बनाउन पनि आग्रह गर्नु भयो । उप प्रमुख अधिकारीले नेपालको सन्दर्भमा समाबेशी शिक्षाको महत्त्वपूर्ण भूमिका रहेको पनि बताउनु भयो ।

समाबेशी शिक्षा कै कारण अपांगता भएका ब्यक्तिहरुको जिबनमा कायापलट आएको छ, उहाले भन्नू भयो, महानगरले समाबेशी शिक्षाको क्षेत्रमा लामो समय देखि नै महत्त्वपूर्ण भूमिका खेल्दै आइरहेको पनि प्रष्ट पार्नु भयो । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर १४ र १६ देखि २८ सम्मका वडा अध्यक्ष र सचिबहरुको सहभागिता रहेको थियोे । कार्यक्रममा अपांगता भएका ब्यक्तिहरुको समाबेशी शिक्षाको अधिकारको बारेमा पनि वडा अध्यक्ष र सचिबहरु सग छलफल गरिएको छ । समाबेशी शिक्षा परियोजनाको उद्देश्य सबै बालबालिकाको सिकाइमा समान अधिकार र अवसरको प्रत्याभूति गर्नु हो । परियोजनाले ४ देखि १७ बर्ष उमेर समुहका अपांगता भएका तथा कार्यगत सिमितता भएका विद्यालय भित्र र बाहिर रहेका बालबालिकाहरुलाई लक्ष्यित बर्गको रुपमा राख्दै आएको छ । परियोजना ८७ वटा स्कुलमा लागू भएको छ । कार्यक्रममा अपांगता भएका ब्यक्तिहरुको हक, अधिकार, शिक्षा र स्वास्थ्य, अवसर र चुनौती, र सेवा सुबिधाको बारेमा कार्यपत्रहरु प्रस्तुत गरिएको थियोे ।

भरतपुर महानगरले एक हजार ६ सय ६६ जनालाई अपांगता परिचयपत्र बितरण गरिसकेको स्वास्थ्य तथा सामाजिक बिकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेलले जानकारी दिनु भयो । परियोजनाको कार्यक्षेत्र भरतपुर महानगरपालिका र कालिका नगरपालिका रहेको छ । कार्यक्रममा भरतपुर २२ का वडा अध्यक्ष विष्णु राज महत्तो, २४ का अध्यक्ष राम बहादुर गोदार,२५ का वडा सचिब टिकाराम कंडेल, स्वास्थ्य तथा सामाजिक बिकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेलले समाबेशी शिक्षा र अपांगता भएका ब्यक्तिहरुको हक अधिकारको बारेमा बोल्नु भएको थियोे । परियोजनालाई ह्यान्डिक्याप इन्टरनेशनल, लियोनार्ड चेसाइर र सेन्स इन्टरनेशनले साझेदारी सस्थाहरुको रुपमा काम गर्दै आइरहेका छन भने अटिजम केयर चितवन सोसाइटी, राष्ट्रिय बहिरा सघ नेपाल र कमिटेडले कार्यक्रम कार्यान्वयन गर्दै आएका छन ।




