पोखरा सराङकोट १४ साउन विभिन्न ७ बुदे सयुक्त पोखरा घोषणापत्र जारी गर्दै प्रथम महानगर सम्मेलन नेपाल सम्पन्न भएको छ । शुक्रबारबाट पोखरको सराङकोटमा शुरु भएको सम्मेलनले विभिन्न ७ वटा बुदाहरुलाइ पाँच बर्षमा सम्पन्न गर्ने गरि सहमति जनाउँदै समापन भएको हो । देशका ६ वटै महानगरका साझा समस्या पहिचान गर्दै सबलता, दुर्बलता, अवसर तथा चुनौतीको विश्लेषण गरी साझा घोषणापत्र तयार गरिएको पोखराका मेयर धनराज आचार्यले बताउनु भयो ।

समुन्नत महानगरका निम्ति समन्वयिक विकास र साझेदारी नाराका साथ पोखरा महानगरका मेयर धनराज आचार्यको प्रस्तावमा प्रथम महानगर सम्मेलन नेपाल २०७९ भएको हो । महानगरहरूलाई जनउत्तरदायी बनाउनका लागि निर्वाह गर्नुपर्ने भूमिका तथा साझा सवालका विषयलाई सम्बोधन गर्न यस वर्षदेखि आगामी पाँच वर्षसम्म प्रत्येक वर्ष “महानगर सम्मेलन नेपाल ” गर्ने प्रस्ताव भएकोमा यस वर्ष साउन १३ र १४ गते पोखरामा सम्मेलन गरिएको मेयर आचार्यले बताउनुभयो । संघ सरकार र प्रदेश सरकारसँग समन्वयात्मक भूमिका निर्वाह गर्दै महानगरका न्यूनतम मापदण्ड पुरा गर्नु पहिलो आवश्यकता रहेको ६ वटै महानगरका मेयरहरुले बताएका छन ।

सम्मेलनमा महानगर स्तरबाट प्रवाह हुने सेवा, कामकारबाही तथा विकास निर्माणका कार्यहरूलाई थप सबल, सशक्त र गुणस्तरयुक्त कसरी बनाउन सकिन्छ भन्ने विषयमा अनुभव तथा धारणाहरू आदान प्रदान गरिएको छ । महानगरले गर्ने कार्यसम्पादन, स्रोत साधनको उपयोग तथा परिचालनका विषयमा रहेको विद्यमान कानुन र गर्नुपर्ने सुधारका बारेमा पनि गहन छलफल भएको छ । यसका अलवा सम्मेलनमा महानगरहरू बिच आन्तरिक पर्यटक आदानप्रदान गर्ने, स्थानीय उत्पादन र बजारीकरणको अवसर, स्थानीय स्रोतसाधनको व्यवस्थित परिचालन, महानगरका योजना, बेरुजु,माना चामल,चुनौती र व्यवस्थापनबारे बृस्तृत रुपमा छलफल पनि भएको छ । जनहितका र सामाजिक कार्यका साथै विकासका मोडलमा एकरूपता कायम गर्ने, सूचना प्रविधि र सञ्चारको आदानप्रदान गर्ने लगायतका साझा सवाललाई सम्मेलनमा जोड दिइएको छ । २०८० साललाइ भरतपुर महानगरले भ्रमण बर्षको रुपमा मनाउने भनेर यस अघि नै घोषणा गरिसकेको छ भने सोही बर्षमा नै दोस्रो महानगर सम्मेलन नेपालको पनि आयोजना गरिने प्रमुख रेनु दाहालले जानकारी दिनु भयो । सम्मेलनमा भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले ऐनले निर्दिष्ट गरेका जिम्मेवारीहरुका सम्बन्धमा अनुभव तथा सिकाईको बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियोे ।

यस्तै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बन्धु सुबेदिले विद्यमान ऐन, कानुन तथा तिनका कार्यान्वयनका चुनौतीहरुका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियोे । सम्मेलनमा आयोजक महानगर पोखराका उप मेयर मन्जु देवि गुरुङ, काठमाडौंका मेयर बालेन साह र उपमेयर सुनिता डंगोल, लतितपुरका मेयर चिरिबाबु महर्जन र उपमेयर मञ्जली शाक्य, बिराटनगरका मेयर नागेश कोइराला, भरतपुरका मेयर रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारी तथा वीरगञ्जका मेयर राजेशमान सिह,उपमेयर इम्तियाज आलम तथा प्रमुख प्रशाकिय अधिकृतहरुको सहभागितामा रहेकोे थियोे । सम्मेलनमा ६ वटा महानगरका मेयर, उप मेयर र प्रमुख प्रशासकीय अधिकृत गरि १८ जनाको सहभागिता रहेको थियोे । सम्मेलनमा ५ जना विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्ने हरुमा राष्ट्रिय योजना आयोगका पुर्व अध्यक्ष एंव क्षेत्रिय योजनाकार डा.जगदिश चन्द्र पोखरेलले संघीयता, महानगर र अवको बाटो शिर्षकमा प्रस्तुतीकरण गर्नु भएको थियोे ।

त्यस्तै पुर्वाधार विज्ञ डा.सुर्यराज आचार्यले महानगरपालिकामा पुर्वाधार विकास तथा सुशासन, सुदृढ परियोजनाका नीति सल्लाहकार कृष्ण ज्ञवालि, डा.अजयचन्द्र लाल र सरोज बस्नेतले महानगरपालिकामा हरित, उत्थानशिल तथा विकास अपरिहार्यता सम्भावना र चुनौतीहरु विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियोे । ६ वटा महानगरपालिका मध्ये भरतपुर र ललितपुरमा पुरानै मेयरले जित हासिल गरेका छन् भने अरू सबै महानगरमा नयाँ मेयर निर्वाचित भएका हुन् । अनुभव र योजना साटासाट गर्न ‘महानगर सम्मेलन नेपाल’ गतिलो प्ल्याटफर्म बन्ने विश्वास पोखरा महानगरले लिएको छ । आगामी २०८० सालको महानगर सम्मेलन नेपालको आयोजक भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई मेयर आचार्यले ‘महानगर सम्मेलन नेपाल’को लोगो अङ्कित झण्डा हस्तान्तरण गरेर कार्यक्रमको समापन गरिएको छ ।




