वि.सं.२०५२ साल असोज २० गते बुबा हिरामणी अधिकारी र माता जामुना भण्डारीको जेष्ठ सुपुत्रको रुपमा जन्मिनु भएका डा.सफल अधिकारी सानै उमेरदेखि पढाईका साथै अन्य क्रियाकलापहरुमा निकै रुची राख्ने गर्नुहुन्थ्यो । सनराइज इंग्लिस बोर्डिङ स्कूलबाट २०६७ सालमा एसएलसी उत्तीर्ण गर्नुभएका डा. अधिकारीले २०७९ मा अर्किड साइन्स कलेजबाट +२ र चितवन मेडिकल कलेजबाट Bachelor in Dental Surgery गरी हाल Hospital Management मा Masters गरिरहनु भएकाे छ ।
विभिन्न दर्जन भन्दा बढी सामाजिक संस्थाहरुमा सक्रिय रुपमा लाग्दै आउनु भएका डा. अधिकारी “डेन्टो पोईन्ट फर चाइल्ड एण्ड एडल्ट”का प्रबन्ध निर्देशक समेत हुनुहुन्छ । उहाँ नेपाली काँग्रेसको भातृ संगठन तरुण दल चितवनको जिल्ला सदस्य, तरुण दल चितवनको स्वास्थ्य संयोजक पदमा विगत डेढ वर्षदेखि सक्रिय रुपमा लागिरहनु भएको छ । डा.अधिकारीले चितवन जिल्लाभित्रका विपन्न, गरीब, असाहयहरुलाई आफूले सञ्चालन गरेको डेन्टो पोईन्ट मार्फत दन्त परीक्षणदेखि अन्य निःशुल्क सेवाहरु प्रदान गर्दै सामाजिक कार्यमा समेत अग्रणी भूमिका खेल्दै आउनु भएको छ । उहाँ संयोजक भएको संस्थाले कोरोनाको विषम परिस्थितिमा समेत चितवन जिल्लाभित्रका विभिन्न वडाहरुमा पुगी राहत वितरण, निःशुल्क परामर्श सेवाहरु समेत प्रदान गरिसकेको छ । चितवन र आसपास डेण्टलको क्षेत्रमा चर्चा कमाउँदै आउनुभएका युवा, जोशिला एवम् मिलनसार व्यक्तित्व डा. सफल अधिकारीसँग डेण्टलसँग सम्बन्धित रहेर उज्यालोकर्मी राजु भट्टले गर्नुभएको संक्षिप्त कुराकानी ः
प्रश्न ः तपाईको डेन्टल व्यवसायको यात्रा कस्तो चल्दैछ ? तपाई आफू चाहीं डेन्टल पेशासँग कत्तिको सन्तुष्टि हुनुहुन्छ ?
उत्तर ः सर्वप्रथम म र मेरो संस्थाको तर्फबाट उज्यालो टाईम्स डटकमलाई धन्यवाद व्यक्त गर्दछु । मैले डेन्टल व्यवसाय भन्न भन्दा पनि डेण्टल सेवा भन्न चाहे यसलाई । दन्त स्वास्थ्य भनेको दाँत एवम् सम्पूर्ण मुखको स्वास्थ्य अवस्थालाई जनाउँदछ । दन्त स्वास्थ्य सेवा भनेको दाँत एवम् मुखमा भएका कुनै पनि समस्या, ती समस्याको पहिचान एवम् आवश्यक उपचार साथै चेतना फैलाउने स्वास्थ्य क्षेत्रको एउटा महत्वपूर्ण अङ्ग हो र म नेपालको एक दन्त चिकित्सक भएकोमा गर्व गर्दछु । मैले आफ्नो पूर्वाधार पढाई Bachelor in Dental Surgery पढेर एकवर्ष इन्टरसिप गरि सकेपछि करीब एकवर्षदेखि आफ्नो नीजि क्लिनिक डेन्टो पोईन्ट फर चाइल्ड एण्ड एडल्ट सञ्चालन गर्दै आईरहेको छु ।
दन्त स्वास्थ्य सेवा क्षेत्रमा मेरो पहिल्लैदेखिको रुची र जनमानसमा केही सेवामुलक काम गर्छु भन्ने भावनाले ओतप्रोत भएर म यस क्षेत्रमा अगाडि बढेको व्यक्ति हो । हाम्रो क्लिनिकमा सबै उमेरका बिरामीहरु दन्त स्वास्थ्य सेवा लिनको लागि आउने गर्नुहुन्छ । यहाँ साधारण उपचारदेखि लिएर जटिल समस्याको उपचार पनि गर्ने गर्दछौं । यसरी मुख एवम् दन्त स्वास्थ्य जुन हेर्दा सामान्य लाग्दछ तर वेवास्ता एवम् ध्यान नदिदाँ हुने सक्ने विविध समस्याहरु जानकारी गराउँदै सोही अनुरुप उपचार दिन पाउँदा यस क्षेत्रमा म अतिनै खुशी छु । म अझै निम्न बर्गीय, विपन्न, गरीब, असहायहरुलाई दन्त सेवा दिई सामाजिक क्षेत्रमा समेत योगदान पु¥याउने योजनामा रहेको छु । म आफ्नो क्षेत्रबाट दन्त सेवालाई अझ प्रभावकारी, सहज बनाई अनवरत रुपमा सेवा दिने सोचका साथ अगाडि बढ्नै नै छु ।

प्रश्न ः तपाईको डेन्टलमा बिरामीले पाउने सेवाहरु के–के हुन् ? तपाईकोमा कस्ता किसिमका समस्या भएका डेन्टलका बिरामीहरुले सेवा लिन सक्छन् ?
उत्तर ः दन्त स्वास्थ्यमा केवल दाँत मात्र नभएर जिब्रो, गिजा, तालु लगायतका सम्पूर्ण मुखको स्वास्थ्य परीक्षण गरिन्छ । हाम्रो डेन्टो पोईन्ट फर चाइल्ड एण्ड एडल्टमा बच्चादेखी वृद्धवृद्धासम्मको बिरामीहरुलाई सम्पूर्ण सेवाहरु उपलब्ध छ । हाम्रो डेन्टलमा जनरल दाँतको जाँच, दाँतको आर.सि.टि, दाँतको खोल राख्ने, दाँतमा कलर लगाउने, कृत्तिम दाँत राख्ने, दाँत सफा गर्ने, गिजाको शल्यक्रिया, दाँतमा तार लगाएर मिलाउने, सिष्ट टियुमरको शल्यक्रिया, बच्चाको मुखको शल्यक्रिया, दाँतको एक्सरे लगायतका सेवाहरु लिन सकिन्छ ।
प्रश्न ः डेन्टल पेशमा चुनौतीहरु छन् की छैनन् ? डेन्टल पेशा सञ्चालनमा सरकारी संयन्त्रबाट कस्तो योजना आईदिए हुन्छ जस्तो लाग्छ ?
उत्तर ः चुनौती बिनाको त सायद कुनै पनि पेशा नै छैन होला । हाम्रो डेन्टो पोईन्ट फर चाइल्ड एण्ड एडल्टमा हामीले अत्यन्तै सावधानी अपनाएर आधुनिक तरिकाबाट सेवा दिदै आएको हुनाले चुनौतीलाई सहज बनाएका छौं । मानिसहरुमा अmझै पनि दाँत एवम् मुखको स्वास्थ्य सम्बन्धि जानकारी नभएको र महत्व नबुझेको हामीले बुझेका छौं । जबसम्म दाँत दुखेर जटिल समस्या आउँदैन त्यतिबेलासम्म हामीकहाँ जचाउन जाने प्रवृत्ति छैन । त्यसै कारणले मानिसहरुलाई सामान्यतया दाँत र मुखको पूर्ण जानकारी गराउँदै ब्रस गर्ने विधिदेखि के कारणले दाँतमा समस्या देखिन्छ ? त्यसलाई कसरी उपचार गर्न सकिन्छ भन्ने जानकारी गराउनु अहिलेको महत्वपूर्ण आवश्यकता हो । सरकारी तबरबाट दन्त सेवा क्षेत्रलाई उत्थान गर्न वृहत रुपमा नीति, नियम बनाई प्रत्येक जिल्लाहरुमा दक्ष जनशक्तिको उत्पादन गर्नुपर्ने, जिल्लाका हरेक अस्पतालहरुमा दन्त विशेषज्ञ डाक्टरहरुको दरबन्दी बढाई अस्पतालमा दन्त सेवालाई प्रभावकारी बनाउनु पर्ने देखिन्छ । अझै विना दर्ता सञ्चालन भएका दन्त क्लिनिकहरुबाट दाँतका रोगीहरुले वास्तविक उपचार नपाईरहेको गुनासो आईरहेको हुँदा त्यस्ता खाले क्लिनिकहरुको खोजी गरी कार्वाहीको दायरामा ल्याउनु पर्ने देखिन्छ । सरकारले जिल्लाका दुर्गम स्थलहरुमा दन्त शिविरहरुका साथै जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने, हरेक अस्पतालहरुमा नयाँ–नयाँ प्रविधिहरुको प्रयोग गरी समस्याको न्युनिकरण गर्न जरुरी छ ।

प्रश्न ः तपाईको डेन्टल पोइन्ट र अन्य डेन्टलहरुमा के फरक पाउँछन् बिरामीले ?
उत्तर ः हामीले अन्य डेन्टलहरुको सेवा, सुविधालाई हेरेर भन्दा हामीले हाम्रो डेन्टलमा आउने बिरामीहरुको समस्या राम्रोसँग पहिचान गरी उपचारलाई अगाडि बढाउँदछौं । हामीले बच्चाहरुको अवस्थालाई हेरेर छुट्टै उपचार पद्धतिको व्यवस्था गर्ने गर्दछौं । बिरामीहरुको समस्याको प्रकृति हेरेर हामीले अन्य दन्त चिकित्सकहरुको आवश्यक ठहर भएमा परामर्श लिई उपचारलाई प्रभावकारिता बनाउने छौं । हामीले विरामीहरुलाई धेरै भार नपरोस् भन्ने हिसाबले नाफामुखी नभई सेवामुखी तबरले शुल्क समेत लिई गरेका छौं । यी यावद कारणहरुले गर्दा पनि हामी अन्य डेन्टल भन्दा फरक नै भन्न रुचाउँछु म ।

प्रश्न ः अन्त्यमा भन्नुपर्ने तर छुटेका केही सुझाव भए बताईदिनोस न ?
उत्तर ः हाम्रा सम्पूर्ण ग्राहकहरुलाई दाँत र मुखको स्वास्थ्यलाई ख्यालमा राखी समय–समयमा टेण्डल क्लिनिकहरुमा नियमित चेकजाँच गराई हरेक ६–६ महिनामा दन्त चिकित्सकहरुसँग परामर्श लिई नियमित चेक गर्ने बानी बसाल्नु हुन अनुरोध गर्दछु । साथै, हामीले सञ्चालनमा ल्याएको डेन्टो पोईन्ट फर चाइल्ड एण्ड एडल्टको सेवा लिई हामीलाई सल्लाह, सुझाव र हौसला प्रदान गरिदिनुहुन समेत म हार्दिक अनुरोध गर्दछु । जय डेन्टल ।




