भरतपुर/असार बर्षा याम शुरु भए सगै आउने प्राकृति बिपद र अन्य कारणहरु बाट सृजित भएर आउने बिपदहरुलाइ कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर भरतपुरमा बिपद सम्बन्धि दुई दिने तालिम शुरु भएको छ । सशस्त्र प्रहरी बल, गढिमाइ बाहिनी मुख्यालय र १७ नम्बर गढ हेड क्वाटर चितवनद्वारा आयोजित बिपद ब्यबस्थापन अभिमुखिकरण तालिममा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको क्षेत्रमा देखिएको अहिलेको टड्कारो समस्याको बारेमा सहजीकरण गरिएको छ ।
भरतपुरको १२ वटा वडाहरु जुन बिपदको जोखिममा रहेका छन, तिनै वडाका जनप्रतिनिधिहरुलाइ लक्ष्यित गरि तालिम आयोजना गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । तालिममा भरतपुर महानगरका वडा नम्बर १,३,४,१६,१७,१८,२२,२३,२६,२७,२८ र २९ का ३६ जना जनप्रतिनिधिहरुले सहभागीता जनाएका छन । उक्त तालिममा स्काउटका ५ जना प्रतिनिधिहरुको पनि सहभागिता रहेको छ । उद्वघाटन कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले बिपदको लागि महानगरले छुट्टै बजेटको ब्यवस्था गरेको बताउनु भयो । प्रत्येक वडा वडामा बिपद सम्बन्धि काम गर्नको लागि वडा स्तरीय बजेट पनि छुट्टिसकेको छ उप प्रमुख अधिकारीले भन्नू भयो । उहाँले बिपदलाइ ब्यबस्थापन गर्न चुनौती रहेको भन्दै सबैको साथ र सहयोग भए मात्रै ब्यबस्थापनमा सहजता आउने बताउनु भयो । उहाँले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनलाई संकटासन्न समुह जस्तै महिला, बालबालिका, शारीरिक रुपले असक्त, वृद्ध वृद्धा मैत्री बनाउनु अति आवश्यक रहेको पनि विशेष मुद्दा कै रुपमा उठाउनु भयो ।

विपद् जोखिम न्यूनिकरणबाट स्थानीय सामाजिक, आर्थिक र वातावरणीय अवस्थामा सुधार ल्याउन सकिने पनि उप प्रमुख अधिकारीले बताउनु भयो । विपद् अनुसन्धान, प्रविधिको विकास, मानव संसाधनको विकास, पूर्व सूचना प्रणाली, जलवायु परिवर्तन अनुकुलन तथा विपद् न्यूनीकरण योजनाको कार्यान्वयनमा अरु बढी स्रोत परिचालन गर्न अति आवश्यक रहेको पनि उहाँले बताउनु भयो । उप प्रमुख अधिकारीले महानगरका हरेक वडामा कम्तीमा ५ जनाको आधारभूत जनशक्ति तयार गर्ने गरि काम भइ रहेको पनि जानकारी गराउनु भयो । कार्यक्रममा बोल्दै चितवनका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले स्थानीय स्तरमा भएका जनशक्ति र साधन स्रोतलाई सहि तरिका बाट परिचालन गर्न सकिएको खण्डमा मात्रै बिपदसग सामना गर्न सकिने बताउनु भयो । प्रमुख जिल्ला अधिकरिले बिपदको क्षेत्रमा स्थानीय तहहरुको सक्रियता अल्लि कम भएको पनि बताउनु भयो । उहाँले स साना कुराहरुमा ध्यान नपुर्याउदा बिपदको सामना गर्नु परेको पनि बताउनु भयो । उक्त अभिमुखिकरण तालिम भोलि मगलबार सकिने छ ।




