बुटवल/नवलपरासी जिल्ला नेपालको अटो हब बन्ने भएको छ । विगत ५ वर्षदेखि सवारीसाधन उत्पादनमा जुटेको नवलपरासी अधिकांश ब्राण्डको रोजाइमा परेको छ । नवलपरासीको रामग्राममा पहिलो पटक बजाजले एसेम्बल प्लान्ट लगाएको थियो । त्यसपछि यहाँ विभिन्न ब्राण्डले मोटरसाइकल तथा गाडी उत्पादनको प्लान्ट स्थापना गर्न आवश्यक जमिन खरिद गरेका थिए ।
अहिले चल्तीका ब्राण्ड होन्डा, यामाहा जस्ता ब्राण्डले यहाँ प्लान्ट स्थापनाको काम तीव्र गतिमा अगाडि बढाएका छन् । साथै, टीभीएसले पनि यही क्षेत्रमा नयाँ प्लान्ट लगाउन आवश्यक जमिन खरिद गरेको छ । त्यसैगरी, यही क्षेत्रमा महिन्द्रा र हुन्डाईले पनि प्लान्ट स्थापनाको योजना तयार गरेर आवश्यक जमिन किनिसकेका छन् । ‘यो क्षेत्र अटोमोबाइलको लागि ठूलो हब बन्ने तयारी देखिन्छ । यसले समग्र नवलपरासी, रुपन्देही जस्ता जिल्लालाई अटोमोबाइलकै कारण चिनाउने अवस्था आएको छ’, लुम्बिनी अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष गणेशप्रसाद भट्टराईले बताए।




