चितवन/घरायसी विवादको क्रममा पूर्वी चितवनको खैरहनीमा बन्धक बनाएर श्रीमानले मलद्वारमा लौरो घुसाउँदा गम्भीर घाइते भएकी महिलाको सोमबार राति ११ः५० बजेको समयमा उपचारको क्रममा मृत्यु भएको छ। यही जेठ १२ गते साँझ ४० वर्षीय श्रीमान् रामचन्द्र माझीले कोठामा बन्धक बनाई मलद्वारबाट लौरो घुसाएर सख्त घाइते बनाएका थिए ।घटनापछि स्थानीयले रामचन्द्रलाई समातेर प्रहरीलाई बुझाएका थिए ।
भरतपुर अस्पतालमा पाँच दिनदेखि उपचाररत पूर्वी चितवनको खैरहनी नगरपालिका-१० की गीता माझीको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए।माझीको सोमबार अपरेसन गरिएको थियो। अपरेसनपछि उपचारमा हुँदा घाइतेको मुटुको चाल अचानक रोकिन पुगी मृत्यु भएको उनले बताए।उनको उपचारमा संलग्न चिकित्सक दीपेन्द्र न्यौपानेका अनुसार गीताको यौनाङ्गको चार तह च्यातिनुको साथै कम्मरको हड्डी भाँच्चिएको थियो। उनमा दिसा पिसाब नरोकिने फिस्टुला, आन्द्रामा समस्या लगायतका स्वास्थ्य जटिलता उत्पन्न भएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले रामचन्द्रविरुद्ध लिखित उजुरी पर्न बाँकी रहेको बताए। घाइतेको मृत्युअघि आरोपीविरुद्ध ज्यानमार्ने उद्योग र बलात्कारको मुद्दा दर्ता गरेर अनुसन्धान भएकामा अहिले मृत्यु भइसकेपछि अब ज्यानसम्बन्धी मुद्दाको प्रक्रियाअघि बढ्ने उनले जानकारी दिए। गीताका ३ छोरी छन् । उनी ज्याला मजदुरी गर्थिन् । रक्सी खाने पैसा नदिएको भनेर श्रीमान् रामचन्द्रले गीतालाई कुट्ने गरेको स्थानीय बताउँछन् ।




