कालिका/ चितवनको कालिका नगरपालिकाले विपन्नलाई स्वास्थ्य बीमा गर्ने पहिलो निर्णय गरेको छ । नवनिर्वाचित नगर प्रमुख विनोद रेग्मीले पालिकाभित्रका विपन्नको नगरपालिकाले बीमा गर्ने निर्णय गर्नुभएको हो । नगरभित्रका विपन्नहरुको तथ्यांक संकलन गरेर उनीहरुको बीमा नगरपालिकाले गरिदिने नगर प्रमुख रेग्मीले बताउनुभयो । यसैगरी पालिकाभित्रका साना किसानको दूधमा प्रति लिटर एक रुपैयाँ अनुदान दिने निर्णय पनि उहाँले गर्नुभएको छ । किसानले उत्पादन गरेको दूध सहकारी मार्फत् बिक्री गर्दा प्रति लिटर एक रुपैयाँ अनुदान दिने उहाँले बताउनुभयो ।
यसैगरी नगरपालिकामा छुट्टै हेल्प डेस्क स्थापना गरिने भएको छ । हेल्पडेस्कले सेवाग्राहीलाई सहजीकरण गर्ने व्यवस्था मिलाईने रेग्मीले कान्तिपुर हेल्थलाई बताउनुभयो । नगर प्रमुख रेग्मीका अनुसार नगरपालिका आउने सेवाग्राही अलमलमा नपर्ने गरी काम हुने बताउनुभयो । उहाँले नगरपालिकाको काममा ढिलासुस्ती नहुने गरी काम गर्नका लागि हेल्पडेस्क राख्ने निर्णय गरेको बताउनुभयो ।




