काठमाण्डौ/शुक्रवार हुने पालिका चुनावको लागि भोलि रातिदेखि मौन अवधि सुरु हुने भएको छ । मौन अवधिमा चुनावी प्रचारका कुनै पनि कार्यक्रम गर्न पाइँदैन । चुनावी प्रचारको लागि आज र भोलि दुई दिन मात्रै बाँकी भएकाले दल र उम्मेदवार दौडधुपमा व्यस्त छन् ।यस्तै, भोलि मध्यरातिदेखि नै चीन र भारतसँग जोडिएका सीमा नाका बन्द हुने भएका छन् । भोलि राति १२ बजेदेखि मतदान हुने दिन शुक्रवार राति १२ बजेसम्म सीमा नाका बन्द हुने गृह मन्त्रालयले जनाएको छ ।
कुनै देशमा चुनाव हुँदा अन्तर्राष्ट्रिय नियमअनुसार नै सीमा नाका बन्द गर्ने गरिन्छ । चुनावलाई मध्यनजर गरेर सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा गरिएको पनि मन्त्रालयले जनाएको छ। यस्तै आयोगले सामाजिक सञ्जालबाट पनि भोट माग्नु आचारसंहिता विपरीत हुने उल्लेख गरेको छ । एसएमएस, फेसबुक भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत समेत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुनेु आयोगले जनाएको छ । चुनावलाई शान्तिपूर्ण र मर्यादित बनाउन भन्दै भोलिदेखि जाँडरक्सी बिक्री वितरणमा पनि रोक लगाइएको छ ।




