सौराहा/नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेलले स्थानिय तहको निर्वाचनमा उम्मेदवारी दिएका पत्रकारको सदस्यता खारेज हुने बताउनु भएको छ । नेपाल पत्रकार महसंघले चितवनको सौराहामा आयोजना गरेको स्थानीय तहको निर्वाचनको रिपोर्टिङ सम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै पोख्रेलले निर्वाचनमा उम्मेदवार बनेका सदस्यको सदस्यता खारेज गर्ने निर्णय महासंघले गरेको बताउनुभयो ।
उहाँले महासघंका जिल्ला शाखालाई यसको अभिलेख संकलन गर्न अनुरोध गरिएको जानकारी दिनुभयो । प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले निर्वाचनका समयमा मिथ्या फैलाउने सूचना तथा समाचार आउने भएकाले त्यसलाई रोक्ने गरी पत्रकार लाग्नुपर्ने धारणा राख्नुभयो । उहाँले सामाजिक सञ्जालमा कसैकाे पक्षमा टिकाटिप्पणी नगर्न समेत अनुरोध गर्नुभयो । निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउने भन्दै उहाँले मतदातालाई मतदान स्थलसम्म आउने वातावरण बनाउन उहाँले आग्रह गर्नुभयो।
स्वागत मन्तव्य राख्दै नेपाल पत्रकार महासंघका चितवन शाखाका अध्यक्ष नारायण अधिकारीले पत्रकारले पाटी पत्रकार नगरी आचारसहितामा रहेर स्वतन्त्र रूपमा रिपोर्टिङ गर्न अनुरोध गर्नु भएको छ । दुई दिनसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा बागमती र गण्डकी प्रदेशका ३० जान पत्रकारको सहभागिता रहेको छ । नेपाल पत्रकार महासंघले निर्वाचन आचारसंहिताका विषयमा सबै जिल्लालाई समेट्ने गरी इटहरी, नेपालगंजमा पनि प्रशिक्षण कार्यक्रम गर्न लागेको छ ।




