भरतपुर / फ्रेड्स अफ भरतपुर अस्पतालमा नयाँ नेतृत्व चयन गरिएको छ । पुनः राजु पौडेलको संयोजकत्वमा १३ सदस्यीय समिति चयन गरिएको हो उद्योग संघ चितवनका पूर्व अध्यक्ष पौडेल स्थापनाकालदेखि समितिका संयोजक रहनु भएको थियो । बि.सं. २०७५ सालदेखि समिति सक्रिय रहँदै आएको छ । समितिको भरतपुर अस्पतालमा सम्पन्न विस्तारित बैठकले सहसंयोजकमा पत्रकार वसन्त पराजुली र दिवाकरराज श्रेष्ठ, सचिवमा सन्देश वाग्ले, कोषाध्यक्षमा विन्श्गा शर्मा र सहसचिवमा उपेन्द्र पण्डितलाई चयन गरेको छ । यसैगरी समितिको सदस्यमा विजय सापकोटा, अरुण पौडेल, शिवराज कँडेल, अर्जुन अधिकारी, रमन वाग्ले, विमोचन आचार्य र अमृत सापकोटा रहनु भएको छ ।
समितिले भरतपुर अस्पतालमा स्वयंसेवि रुपमा विभिन्न रचनात्मक सहयोग गर्दै आएको छ । अस्पतालको सरसफाई, रंगरोगन, अस्पताल सुन्दरीकरण लगायतका काममा सहयोग गर्दै आएको छ । बैठकमा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा. कृष्णप्रसाद पौडेल, अस्पतालका प्रवक्ता डा. गोविन्द कँडेल, सूचना अधिकारी गोपाल पौडेल लगायतको उपस्थिति थियो । सो अवसरमा मेसु पौडेलले समितिले अस्पतालमा भएका कमिकमजोरीलाई औल्याएर रचनात्मक सुझाव सहितको सहयोग गर्दै आएको बताउनुभयो ।




