अञ्जु गुरुङ्ग
केन्द्रीय प्रचार सचिब,
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल
प्रोपाइटर ः– तमुस्यो व्युटीपार्लर एण्ड टे«निङ्ग सेन्टर, भरतपुर
सुन्दरताको बारेमा धेरै परिभाषा पाइन्छ । अरुले वयान गरिदिने सुन्दरता र आफुले महसुस गर्ने सुन्दरतामा धेरै फरक छ । सुन्दरता वास्तवमा आफु स्वयंलाई स्वीकार गर्ने र आफुलाई सहजता बनाउने माध्याम हो । जुन पल तपाईं आफुलाई लिएर सहज हुनुहुन्छ, तपाईं आफुलाई सुन्दर महसुष गर्नुहुनेछ । अहिले मान्छेहरु सुन्दर बन्नका लागि पार्लर जानेको संख्या बढेको छ । तर ग्राहकलाई जति राम्रो सेवा प्रदान गरेपनि ग्राहकले सहजता महसुस नगरे सम्म आफुलाइ सुन्दर भएं भनेर भन्दैन । यो एउटा मनोगत समस्या हो । ग्राहकको सन्तुष्टि तपाइको कलामा मात्र नभएर तपाइले पार्लरमा झुण्ड्याउनु भएको दक्षता सम्बन्धी प्रमाण पत्रले पनि निर्धारण गर्छ ।
पछिल्लो समय सौन्दर्य व्यवसाय उद्यमका रुपमा विकास भइरहेको छ । सौन्दर्य व्यवसायमा दक्ष जन शक्ति उत्पादन गरी उद्यमशीलता विकासका लागि निजी तथा सरकारी तवरबाट विभिन्न प्रयासहरु भइरहेका छन् । यस्ता प्रयासले आफ्नो व्यवसाय राम्रो हुदैं जाने विश्वास छ ।
सिटिइभिटिले सौन्दर्यकर्मीका विभिन्न चरणको दक्षता परिक्षण गर्दै आएको छ । आफ्नो सीप परिक्षण गराई दक्षताको प्रमाणपत्र लिन धेरै सौन्दर्यकर्मीहरु लालायित देखिन्छन् । यस्तो प्रमाण पत्रका आधारमा नै सौन्दर्य तालिम केन्द्रहरु स्थापना गर्ने र धेरै भन्दा धेरै सौन्दर्यकर्मी उत्पादन गर्नेक्रम पछिल्लो समयमा बढिरहेको छ । सिटिइभिटिका अनुसार अहिलेसम्म २ लाख ६० हजार बढीले दक्षता परिक्षणको प्रमाणपत्र लिइसकेका छन् ।
गत आर्थिक वर्षमा ५० हजार बढीले दक्षता परिक्षणको प्रभाणपत्र लिइसकेका छन् । यो क्रम बढ्दो छ । यो तथ्यांकले पनि के देखाउँछ भने हरेक वर्ष सौन्दर्य सीपलाई आफ्नो पेसा बनाउन चाहनेहरुको संख्या बढ्दो छ । सौन्दर्यकर्मी पेशा उद्यमका रुपमा विकास भइरहेको छ । सौन्दर्यकर्मीका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरी उद्यमशीलता विकासका लागि निजी तथा सरकारी तवरबाट विभिन्न प्रयासहरु भएका छन् । नेपालमा २०५९ सालदेखी सिटिइभिटि अन्तर्गत सौन्दर्यकर्मीको दक्षता परीक्षण गर्ने प्रणाली सुरु भयो । अहिले नेपालमा यो पेशाका लागि आधिकारीक प्रमाणपत्र लिनेको संख्या बढ्दो क्रममा छ । यसवर्ष मात्र सौन्दर्य व्यवसाय संचालन गर्न लेभल १ र लेभल २ प्रमाणपत्र लिनेको संख्या ४३ हजार छ । यसका अलावा, स्थानीय स्तरमा नगरपालिका, उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता गरेर पनि यस्ता पेशा संचालन भइरहेका छन् ।
यो क्षेत्र व्यवस्थित हुने हो भने राष्ट्रिय उत्पादकत्वमा योगदान त हुन्छ नै, रोजगारीको नाउँमा विदेशिने क्रम पनि कम हुनेछ । यसका लागि सौन्दर्यकर्मीको आत्मसम्मान बढाउने र व्यवसायमा टिकाइराख्ने उपाए खोज्नु जरुरी रहेको छ ।
सौन्दर्य पेसामा अवसर र चुनौती
सौन्दर्यकर्मीले प्राकृतिक सुन्दरतामा अझै निखार ल्याउने काम गर्छन । सौन्दर्यविद बन्न त्यति सजिलो छैन् । काम हेर्दा सजिलो देखिए पनि प्रकृया पू¥याएर ग्राहकको रोजाईको श्रृङ्गार तथा सौन्दर्य उपचार गर्नु चुनौती पूर्ण काम हो । जसका लागि आवश्यक दक्षता चाहिन्छ । बदलिंदो समयसंगै सुन्दरता प्रति चासो दिनेहरुको संख्या बढेको छ । जसले धेरैको रोजगारी बढाएको छ । पछिल्लो समय स्वदेशमा मात्र होइन, यस्ता तालिम लिएर विदेशिनेहरुको संख्या पनि बढ्दो छ ।
नेपालमा पछिल्लो समय राम्रो रुपमा चलेको सौन्दर्य पेसा धेरैका लागि अर्थपार्जनको लागि उपयोगी माध्यम भएको छ । सौन्दर्य प्रशाधनको प्रयोग र पार्लर जाने क्रम बढ्नाले सौन्दर्य पेसामा काम गर्नेहरुको लागि राम्रो अर्थ उपार्जनको स्रोत भएकोछ । पहिले भन्दा अहिले यसको क्षेत्र अझै विस्तार भएको छ ।
आजको परिस्थितिमा लगभग प्रत्येक घरमा सौन्दर्यकलाको सामान्य ज्ञान र आधारभुत काम जस्तै ः– थ्रेडिंग,साधारण मेकअप,वाक्स,कलर,मेनिकेयर–पेडिकेयर,कटिंग जस्ता काम जानेका मान्छेहरुको बाहुल्यता बढदो छ । उनिहरु आफुले जानेको भन्दा राम्रो काम होस भन्ने आशा र अपेक्षामा पार्लर आउने गर्दछन ।
कतिपय साना सहर, बजारमा संचालित पार्लरहरुमा भने दक्षता विना नै पार्लर संचालन भएका छन् । आधारभूत ज्ञान विना नै खोलिएका पार्लरहरुबाट ग्राहकले पाउने सेवा कति प्रभावकारी रहला भन्ने अर्को सवाल हुन सक्छ । व्यक्तिको सौन्दर्यमा थप सुन्दरताको उपचार गर्न पेसा अथवा कलाको रुपमा यसलाई हेर्ने गरिन्छ । यदि सानो मात्रै गल्ती भयो भने स्वय सौन्दर्यकर्मीले नै त्यसको जिम्मेवारी लिनुपर्ने हुन्छ । त्यसैले पनि ध्यानपूर्वक आफूमा भएको क्षमता, सीप प्रस्तुत गर्ने पेसाका रुपमा यसलाई बुझनुपर्ने हुन्छ । बिना सिप गरिएका कामबाट हानी भयो भने कानुनी कार्बाही हुन सक्छ । ठूलो क्षतिपूर्ति व्यहोर्नु पर्ने हुन सक्छ । त्यसैले सिप परिक्षणको प्रमाण–पत्र नभइकन यो पेशा गर्दा हुन सक्ने दुर्घटनाबाट बच्नका निमित्त पनि परीक्षण प्रमाण–पत्र लिने कुरामा सबै सौन्दर्यकर्मी सचेत बन्नुपर्ने परिस्थितिको शृजना भएकोछ ।
आधारभूत तालिम अनिवार्य
जुनसुकै पेसा, व्यवसाय गर्नका लागि पनि आवश्यक सीप र दक्षता अनिवार्य हुन्छ । सौन्दर्यकलाको काम गर्ने व्यक्तिको लागि पनि आधारभूत तालिम पहिलो आवश्यकता हो । व्युटी पार्लर संचालन सामान्य कामका रुपमा बुझ्नु गलत हो । यो पेसा ग्राहकको सौन्दर्य र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको हुन्छ । त्यसैले पनि आवश्यक सौन्दर्यकला सम्बन्धी कोर्ष लिएको हुनुपर्छ । सौन्दर्य पेसा सञ्चालन गर्ने इच्छुक व्यक्तिले तालिम केन्द्र तथा वरिष्ठ सौन्दर्य्विद्सँग आधारभूत, डिप्लोमा अथवा त्यो भन्दा एड्भान्स लेवलका तालिमहरु लिन सक्छन् । जहाँ सौन्दर्य पेसा सञ्चालन गर्न आवश्यक सबै किसिमका काम प्रत्यक्ष विज्ञकै सल्लाहमा सिक्ने अवसर हुन्छ ।
आवश्यक तालिम प्राप्त गरेपछि विभिन्न ब्युटी पार्लरहरुमा गई कामका बारेमा थप अनुभव पनि लिन सकिन्छ । जसले गर्दा सैद्धान्तिक शिक्षालाई प्रयोगात्मक ढङ्गले अझै प्रभावकारी बनाउन सहयोग पुग्छ । तालिम पछि प्रयाप्त अभ्यास जरुरी हुन्छ, जसले गर्दा काममा निखार ल्याउन सकिन्छ ।
आवश्यक उपकरणमा ध्यान दिने
पार्लर संचालनमा आवश्यक उपकरण अनिवार्य हुन्छ । सामान्य डेकोरेसन र सिमित उपकरणहरु राख्ने हो भने खर्च केही कम लाग्छ । चलेका सौन्दर्य उपकरणहरु राख्ने हो भने लाखौ पनि लाग्न सक्छ ।
पार्लरका लागि आवश्यक विभिन्न इक्युपमेन्टहरु हुन्छन् । जुन मंहगा हुन्छन् । सानो टिम बनाएर पार्लर संचालन गर्नेहरुको संख्या पछिल्लो समयमा बढेको छ । जसले आर्थिक भार समूहमा बाढिने हुँदा काम गर्न सहज हुन्छ ।
एउटा पार्लर संचालन गर्नलाई हातमा सीप भएर मात्र पनि पुग्दैन । पार्लरका लागि आवश्यक समय अनुकूलका उपकरणहरु पनि जुटाउनुपर्ने हुन्छ । ग्राहकको आवश्यकता र रुचीलाई ध्यान दिदै उपकरणहरु खरिदमा ध्यान दिनुपर्छ । ग्राहकलाई विभिन्न सेवा दिनका लागि उपकरणसँगै डेकोरेसन पनि महत्वपूर्ण पक्षहो जहाँ धेरैको ध्यान पुगेको हुँदैन । अहिले डेकोरेसन अनिवार्य छ ।
पछिल्लो समयमा यसतर्फ महिलाको आकर्षण बढेको छ । हातमा सिप भए पछि यो पेसामा खाली बस्नु पर्दैन । स्वदेशमा मात्र होइन सिप सिकेर बिदेशमा पनि ् महिला दिदीबहिनीहरु राम्रो काम गर्न सफल भएका छन ।
सौन्दर्यकलाको तालिमले महिलाहरु स्वरोजगार भएका छन् । आर्थिक रुपमा महिलाहरु सबल हुँदा घर परिवार चलाउन सहज भएको छ । हातमा सीप भएपछि यो पेसामा कोही महिला पनि बेरोजगार बस्नु पर्दैन । स्वदेशमा मात्र होइन विदेशमा पनि महिलाहरु दक्षता हांसिल गरेर जाने गरेका छन् । उनीहरुले त्यहाँ पनि राम्रो गरेका छन ।
अबका दिनमा यो पेशाको क्षेत्र र अवसर राम्रो छ । थोरै लगानीमा गर्न सकिने पेशा भएका कारण पनि यस तर्फ महिलाको आर्कषण बढ्दो छ । आर्थिक स्थति कमजोर भएका महिला दिदीबहिनीहरुलाई निशुल्क तालिम दिने वातावरण पनि मिलाउन जरुरी छ ।
यसमा अवसरसंगै चुनौतिहरु पनि छन् । यसलाई व्यवस्थित बनाएर लैजानु पर्ने चुनौति हाम्रा सामू छ । सरकारले अनुगमनको पाटोमा हामीलाई सहयोग गरोस भन्ने छ तर हुन सकेको छैन ।
यो कलाको पक्ष पोषण गर्ने र सौन्दर्यकर्मीहरुलाई संगठित गर्ने कामका लागि हाम्रो युनियन पनि लडिरहेको छ । सौन्दर्य विषयलाई पठनपाठनकै रुपमा विकास गर्न हामीले लामो समय देखि प्रयास ग¥यौ । हाम्रो युनियन राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल र हाम्रो महासंघ नेपाल ट्रेड युनियन महासंघ जिफन्टका पहलका कारण यस बिषयले कक्षा ९ र १० को पाठ्यक्रममा प्रबेश पाउदैछ ।
बजारमा जथाभावि रुपमा हानिकारक कस्मेटीकहरु भित्रिएका छन् । यो रोक्न सरकारले चासो दिएको छैन । जसका कारण यसको जिम्मा हामीले लिनुपर्ने अवस्था बिद्यमान छ । कस्ता कस्मेटिक राम्रा र कस्ता हानिकारक हुन्छ भन्ने छुट्याउनका लागी पनि दक्ष हुनु आवश्यक छ । सौन्दर्य सामग्रीमा प्रयोग भएका विषले ग्राहकलाइ भन्दा सौन्दर्यकर्मीलाई धेर्रै गम्भीर स्वास्थ्य समस्यामा पार्न थालेको छ ।
एक महिलाले जीवनभरमा औसत १.८ केजी लिपिस्टिक प्रयोग गर्ने र पैसा हालेर किनेको चिजले सौन्दर्य बढाउनुको साटो जटिल स्वास्थ्य समस्या उत्पन्न हुने देश–विदेशमा भएका अध्ययनहरूले बताउदछ ।
बङ्लादेशको गैर–सरकारी संस्था इन्भाइरोन्मेन्ट एण्ड सोसल डेभलपमेन्ट अर्गनाइजेसन (ईएसडीओ) ले गत वर्ष ३३ किसिमका सौन्दर्य प्रसाधनको अध्ययन गर्दा २८ वटामा तीनभन्दा बढी प्रकारका घातक रसायनिक पदार्थ पाएको थिया े।
‘टक्सिक केमिकल इन ब्यूटी प्रोडक्ट, अ पोटेन्सियल थ्रेट टु ह्युमन हेल्थ एण्ड इन्भाइरोन्मेन्ट’ शीर्षकको अनुसन्धान प्रतिवेदनमा बंङ्लादेशमा सबभन्दा चलेका फेस वास, हर्बल फेस प्याक, स्किन ह्वाटनिङ क्रिम, हेयर जेल, बेबी लोसन लगायतका वस्तुमध्ये सबैमा कुनै न कुनै विषाक्त रसायन भेटिएको उल्लेख छ ।
त्यसअघि २०१० जुलाईमा अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले ४०० प्रकारका लिपिस्टिकको परीक्षण गर्दा ०.०२६ देखि ७.१९ पीपीएमसम्म लिड (सिसा) पाएको थियो।
नेपालमै पनि गैर–सरकारी संस्था जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र (सीईपीएचईडी) ले सन् २०१२ मा आठ ब्रान्डका लिपिस्टिक र सात ब्रान्डका स्किन ह्वाटनिङ क्रिमको अनुसन्धान गर्दा लिपिस्टिकमा लिडको मात्रा ३०० देखि १४५० गुणासम्म तथा क्रिममा मर्करी (पारो) को मात्रा ०.०२५ देखि ०.५२१ एमजीरकेजी पाइएको थियो। लिपिस्टिकमा ०.१ पीपीएमभन्दा बढी लिड हुनु नहुने अमेरिकी मापदण्ड छ ।
नेपाली बजारमा फेस वास, मोस्चराइजर, लिपिस्टिक, ग्लस, लिप वाम, लिप लाइनर, गाजल, आई लाइनर, आई स्याडो, नेलपोलिस, सन्सक्रिम, कम्प्याक्ट पाउडर, लुज पाउडर, फाउण्डेशन, फेस साइनर, ह्याण्ड लोसन, बडी लोसन, साबुन, स्याम्पु, कण्डिसनर, फेशियल क्रिम, स्टेट क्रिम, कर्लि क्रिम, ट्रिटमेन्ट क्रिम, हाइलाइटर लगायत ५०० भन्दा बढी प्रकारका कस्मेटिक्सको कारोबार भइरहेको छ । तीमध्ये अधिकांशलाई विषको पोका भन्दा फरक पर्दैन ।
यस्ता बिषादी युक्त प्रसाधन चलाउने सौन्दर्यकर्मीको स्वास्थ्य अबस्थामा कस्तो असर पर्छ र यसबाट बच्नका लागि कस्तो किसिमको तरीका अपनाउनु पर्छ भन्ने बारेको समेत दक्षता हासिल गर्नु जरुरी छ । जसलाई व्यबसाय जन्य स्वास्थ्य र सुरक्षा भनिन्छ । यस किसिमका जानकारी हामीलाइ युनियनले प्रदान गर्दछ । त्यसैले सौन्दर्य पेशा अपनाउने साथीहरुलाई दक्षता हासिल गर्न र पेशाको सुरक्षाको लागी युनियनमा आवद्ध हुन राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल अनुरोध गर्दछ ।
युनियनमा कसैको दवावका वा साथीको कुरा काटन नसकेका कारण लागें भनेर कदापी सोच्नु हुदैन । हरेक पेशाकर्मीले आफनो हक अधिकार सुरक्षीत गर्न युनियनमा लाग्नु पर्ने हुन्छ । युनियनले आफना सदस्यको सुरक्षाका साथै उनिहरुको बृत्ति बिकाश गर्ने काममा मद्धत पु¥याउदछ । सदस्यले युनियनले तोकेको र निर्देशन गरेको अभिभारा पुरा गर्नुका साथै युनियनलाई रचनात्मक सुझाव दिनु पर्दछ ।
राजनीतिक आन्दोलनको लडाइँ पश्चात यतिखेर मुलुकको आर्थिक–सामाजिक विकासमा यथेष्ठ योगदान पुर्याउँदै श्रमिकको अधिकारलाई व्यवस्थित, सुनिश्चित गर्दै श्रमिकको समृद्धितर्फ ध्यान केन्द्रित गर्नुपर्ने अभिभारा ट्रेड युनियन आन्दोलनका सामु रहेको छ । बदलिँदो परिवेशमा ट्रेड युनियन आन्दोलनको दिशालाई सही ढंगले पक्रेर, त्यस दिशातर्फ आमश्रमिकलाई परिचालित गर्न नेतृत्वकै भूमिका रहन्छ । नेतृत्व त्यो हो जसले अब हिँड्ने बाटो के हो ? थाहा पाउँछ । दोस्रो, नेतृत्वले बाटो थाहा पाउने मात्र होइन, अरूलाई बाटो देखाउने काम गर्छ । तेस्रो, बाटो थाहा पाउने र देखाउने मात्र होइन, हिँड्नुपर्ने बाटोमा नेतृत्व आफैं अगुवा भएर अरूलाई डोर्याउँछ ।
आन्दोलनभित्र सैद्धान्तिक वैचारिक विषयमा अध्ययन, चिन्तन, मनन गर्ने परिपाटी बसाउनु आवश्यक हुन्छ ।
यतिखेर ट्रेड युनियन आन्दोलनका सामु अझ विशेषतः नेतृत्वका सामु गहन ढंगले अध्ययन, चिन्तन, विश्लेषण गरी अग्रगामी ढङ्गले सही दृष्टिकोण दिन सक्ने चुनौती बिद्यमान हुन्छ । सैद्धान्तिक, वैचारिक विषयमा व्यापक रूपमा प्रशिक्षण अभियान सञ्चालन गरेर क्षमतायुक्त नेतृत्व पंक्तिको विकास गरेर ट्रेड युनियन आन्दोलनलाई सही दिशा बोध प्रदान गर्नेतर्फ ट्रेड युनियन लाग्ने गर्दछन । युनियनले आफनो एजेन्डा तय गर्न सकेन र खोकिलाबाट नेतृत्व उत्पादन गर्न थाल्यो भने दुर्घटना हुन्छ । युनियनको मुख्य एजेन्डा र लक्ष के हो भन्ने बारेमा स्पष्ट हुनु जरुरी हुन्छ ।
यतिबेला हाम्रो प्यारो युनियन राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको ऐतिहासिक चौथो राष्ट्रिय महाधिबेशन सम्पन्न गर्न गइरहेका छौ । हाम्रो महाधिबेशनको मुख्य नारा “सामाजिक सुरक्षा र मर्यादित रोजगार, सौन्दर्यकर्मी श्रमिकको अधिकार ” रहेको छ । आगामी कार्यकालको हाम्रो एजेन्डा सामाजिक सुरक्षा प्राप्ति र मर्यादित रोजगार स्थापित गराउनु नै हुनेछ यसका लागि सहायक एजेन्डाहरु पनि तय गर्नुपर्ने हुन्छ । जसमा मर्यादित रोजगार हुनका निमित्त आवश्यक पर्ने सर्तहरु र त्यसलाई प्राप्त गर्ने रणनितिक योजना निर्माण गर्नु पर्दछ ।
ट्रेड युनियन आन्दोलनमा सही वैचारिक दृष्टिकोणका साथ अवसरवादी, अर्थवादी र अराजकतावादी (तीन ‘अ’) सोच चिन्तनबाट हुर्किरहेको गलत व्यवहार, कार्यशैली र जीवनशैलीका विरुद्ध वैचारिक संघर्ष गर्नुपर्ने चुनौतीहरू खडा भएका छन् । ट्रेड युनियनलाई भर्याङ बनाएर आफ्नो स्वार्थ पूरा गर्न र आन्दोलनलाई विर्सजनवादतर्फ उन्मुख गराउने तथा अधिकार कटौती गरेर श्रमिकवर्गको भविष्यलाई पछाडि धकेल्ने पुँजीपक्षीय सोच, चिन्तन र प्रवृत्तिप्रति दृढतापूर्वक वैचारिक संघर्ष गर्न सक्दा मात्र श्रमिकपक्षीय ट्रेड युनियन आन्दोलनको विकास हुने विश्वास लिन सकिन्छ । श्रमिक वर्गिय चरित्र भनेको समाजवादी चरित्र हो । त्यसैले हाम्रो लक्ष भनेको समाजवादी राज्य व्यबस्थाको स्थापना हो । र यी लक्ष र उद्धेश्य प्राप्त गर्न हामी सबै सौन्दर्यकर्मीहरु राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल मा गोलबद्ध भई दृढता पूर्वैक लाग्नु जरुरी छ ।
आउनुहोस पौष २९ गते सम्पन्न हुन गइरहेको हाम्रो प्यारो युनियन राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको चौथो राष्ट्रिय महाधिबेशनमा सहभागि बनौ सौन्दर्यकर्मी श्रमिकका हक अधिकार प्राप्तीको आन्दोलनलाई अझ उचाइमा पु¥याऔं ।




