काठमाण्डौं/राष्ट्रिय दुग्ध विकास वोर्डद्वारा आयोजित केन्द्रिय दुग्ध विकास बोर्ड र प्रादेशिक दुग्ध विकास बोर्ड तथा सम्बद्ध निकायहरु बिच समन्वय तथा सहकार्य सम्बन्धि कार्यशाला गोष्ठी प्रदेश नं २ को जनकपुरमा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका माननीय मन्त्री विजय कुमार यादवज्युको प्रमुख आतिथ्यता एवं राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादबज्युको अध्यक्षतामा सम्पन्न भयो । उक्त कार्यक्रममा प्रदेश नं २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका माननीय राज्यमन्त्री योगेन्द्र राय यादव, विशेष अतिथि प्रदेश नं २ का योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, मन्त्रालयका सचिव नम्रता सिंह , केन्द्रिय मन्त्रालयका सहसचीव लोकनाथ पौडेल, बोर्डका उपकार्यकारी निर्देशक बाबुकाजी पन्त, केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण देवकोटा, महासचिव राम आचार्य, नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटा, महासचिव प्रल्हाद दाहाल, सचीव विजय चौरासिया, डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल, केन्द्रिय पशुपन्छि सहकारी संघका अध्यक्ष बाबुराम अधिकारी, डिडिसिका सन्जिव झा, जिल्ला समन्वय समिति सिराहाका उपसंयोजक सरोज यादब, डेरी साइन्ज एसोसिएसनका सचिवालय सदस्य डा. बिनोद गुप्ता , राष्ट्रिय पशुपन्छि स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यलयबाट प्रमुख पशु विकास अधिकृत डा. माधव प्रसाद अर्याल लगायत विभिन्न दुग्ध उद्योगका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित अतिथिहरु सबैलाई आयोजकको तर्फबाट स्वागत गर्दै बोर्डका उपकार्यकारी निर्देशक पन्तले कार्यक्रमको बारे प्रष्ट पार्नु भयो र सबै डेरी उद्योग, किसान र उपभोक्ताका समस्याका बारे बोल्दै उपस्थित सबैलाई स्वागत गर्नु भयो । कार्यक्रममा केन्द्रिय बोर्डबाट तयार गरेको कार्यपत्र बोर्डका उपकार्यकारी निर्देशक बाबुकाजी पन्तले प्रस्तुत गर्नुभयो भने प्रदेशको तर्फबाट प्रदेश २ कि सचिव नम्रता सिंहले प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा कार्यपत्र माथि टिप्पणी सहित मन्तव्य राख्ने क्रममा बाबुराम अधिकारीले छाडा गाई गोरुको ब्यवस्थापन गर्न सबै सरोकारवालाहरुले चासो लिनुपर्ने बताउनु भयो । उद्योग संघका अध्यक्ष राजकुमार दाहालले यस पटक सिजनमा दुघ नपुग्ने देखिएकोले झोल दुघ आयात गर्न पाउनु पर्ने भन्नु भयो । नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले बोर्डले गरेको कार्यक्रम अत्यन्तै राम्रो रहेको र आगामी दिनमा अझै यस्ता कार्यक्रम थप गरि देशैभर गर्नुपर्ने बताउनु भयो । केन्द्रिय संघका अध्यक्ष नारायण देवकोटाले अब किसानलाई केन्द्रमा राखेर राज्यले कार्यक्रम बनाउनु पर्ने, उद्योगले पनि किसानलाई मुख्य सम्झेर अगाडि बढ्नु पर्ने, समय समयमा किसानको दुध नबिकेर ठूलो समस्या भोग्नु परेकाले किसान यो पेशाबाटै पलायन हुने अवस्था आएको बताउनु भयो । मन्त्रालयका ससचिव डा. लोकनाथ पौडेलले प्रदेशको मन्त्रालयले उत्पादन लागत घटाउन घाँस खेतीमा लाग्न किसानलाई प्रोत्साहन दिइनु पर्ने र सबै मिलेर मात्र यो क्षेत्रको विकास हुने कुरा बताउनु भयो । डिडिसिका सन्जिब झाले अब हामीले लागत कसरी घटाउने भन्ने कुरामा लाग्नुपर्ने बताउनु भयो ।
योजना आयोगका उपाध्यक्ष झाले सबै सरोकारवालाहरुको साझा अवधारणाले यो क्षेत्रको विकासमा टेवा पुग्ने कुरा बताउनु भयो । राज्यमन्त्री यादबले हाम्रो मन्त्रालयले आम किसान र उद्योगको हितका कार्यक्रम ल्याई अगाडि बढिरहेको बताए । कार्यक्रमका प्रमुख अतिथि माननीय मन्त्रीले प्रदेश दुग्ध विकास बोर्डको ऎन पास भई नियमावली निर्माणको अन्तिम चरणमा रहेको र अब केहि समयमै बोर्ड गठनको प्रक्रियामा जाने बताउँदै सरोकारवाला सबैको सहयोगको अपेक्षा गर्नु भयो । अन्त्यमा कार्यक्रमका सभापति एवं राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादबले बोर्डले धेरै राम्रा काम गरेको र अझ धेरै काम गर्न बाँकि रहेको छ। बोर्डले लोगो पास गर्यो । लोगो भनेको राष्ट्रिय दुग्ध विकास बोर्डको मात्र नभएर सबै सरोकारवालाहरुको सफलता हो । अब सबैले यसलाई आफ्नो सम्झेर यसको प्रयोगमा लाग्न आग्रह गर्दै राष्ट्रिय दुग्ध विकास बोर्ड सधैं किसान, उद्योग र समग्र दुग्ध क्षेत्रको विकासमा लाग्ने कुरा बताउँदै नो रिटर्न कार्यक्रम अगाडि बढाउन बोर्ड कटिबद्ध रहेको र त्यसमा सबैले सहयोग गर्न आग्रह गर्नु भयो । बोर्डले राष्ट्रिय दुग्ध निति पास गरिसकेको र अब चाँडै कार्यविधि बनाई सरोकारवालाहरुलाई समेटेर अगाडि बढ्ने कुरा बताउनु भयो । समग्र कार्यक्रमको समन्वय बिर्डका अधिकृत दिपेन्द्र अधिकारीले गर्नु भएको थियो ।




