भरतपुर/पौष २, ३ र ४ गते चितवन प्रदर्शनी केन्द्र, भरतपुर चितवनमा हुने छैटौ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा भएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।
दिगो आर्थिक विकासका लागि औद्योगिक प्रबर्धनको अपरिहार्यतालाई महशुस गर्दै उद्यमशीलता विकास र औद्योगिक उत्पादकत्व अभिवृद्धि गर्ने उद्देश्यले उद्योगीहरूको छाता संस्थाको रूपमा रहेको चितवन उद्योग संघ र संघको केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघको संयुक्त आयोजना एवम् मिडिया स्पेस सोलुसन्स प्रा. लि र Futurex Trade Fair and Events को व्यवस्थापकीय साझेदारीमा चितवन उद्योग संघले वि.सं. २०६६ सालदेखि आयोजना गर्दै आएको राष्ट्रिय औद्योगिक प्रदर्शनीको विस्तारित संस्करण स्वरुप यसवर्षदेखि नियमित वार्षिक कार्यक्रम अन्तर्गत अन्तराष्ट्रिय औद्योगिक प्रर्दशनी गर्न लागिएको हो ।
प्रदर्शनीमा लघु, घरेलु तथा साना उद्योगहरूलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने स–साना औजार उपकरणदेखि ठूला उद्योगमा प्रयोग हुने अत्याधुनिक यन्त्र उपकरणहरूको प्रदर्शनी सहित डेमोको अवसर प्राप्त हुने भएकाले नेपालको औद्योगिक विकासका लागि प्रदर्शनी महत्वपूर्ण हुने विश्वास लिइएको आयोजक संस्था चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिनुभयो ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको र बिहान १०ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म सञ्चालन हुने यस प्रदर्शनीमा देशभरका उद्योग तथा व्यवसाय गर्न ईच्छुक नवउद्यमीहरू, विभिन्न राष्ट्रका आधुनिक प्रविधि उत्पादकहरू, आधुनिक औद्योगिक प्रविधिवारे जानकारी राख्न इच्छुक व्यवसायिक उत्पादकहरू, नेपाली उद्योगका सञ्चालकहरु, लगानीकर्ताहरू तथा उच्च व्यवस्थापकहरू, उद्यमीका व्यवसायिक परामर्शदाताहरू, वित्तिय सेवा प्रदायकहरू, खोज अनुसन्धानकर्ता, शैक्षिक संघ–संस्थाका प्रतिनिधिहरु अवलोकनकर्ताको रूपमा रहने चितवन उद्योग संघका उपाध्यक्ष एवम् प्रदर्शनी केन्द्र सञ्चालन विभागका संयोजक सूर्यप्रसाद न्यौपानेले बताउनुभयो ।
उद्यमीहरूलाई नयाँ प्रविधिबारे जानकारी गराउन र विश्व बजारका नविनतम प्रविधिहरुको अनुसरण मार्फत औद्योगिक उत्पादकत्व वृद्धि सहित दिगो उद्यमशिलताका लागि उपयुक्त माध्यम बन्ने विश्वास लिइएको यस प्रदर्शनीमा हुने स्वदेशी एवम् विदेशी उद्योगीहरू बीच प्रत्यक्ष भेटघाट र छलफलको माध्यमबाट स्वदेशी औद्योगिक उत्पादनको विश्व बजारमा पहुँच पुग्ने विश्वास लिइएको छ ।
उद्यमी बन्न चाहने युवाहरुलाई लक्षित गरी प्रदर्शनीको दोश्रो दिन नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रबर्धन केन्द्र र चितवन उद्योग संघको तर्फबाट कार्यपत्र प्रस्तुतिकरण सहित विशेष गोष्ठी तथा अन्तरक्रिया आयोजना गरिनेछ । साथै, प्रदर्शनी अवधिभर व्यवसायिक परामर्शका लागि छुट्टै स्टलको व्यवस्था गरिने मिडिया स्पेस सोलुसन्स प्रा. लिका प्रबन्ध निर्देशक श्रीजल भट्टराई बताउनुभयो ।
प्रदर्शनी अवधिमा पर्यटन, होटल तथा यातायात सेवा मार्फत देशको आर्थिक कारोबार बढ्ने हुँदा रोजगार तथा आय आर्जनमा सहयोगी भई दुई वर्षदेखि कोभिड १९ ले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

तिनै तहका सरकारबाट प्रबद्र्धित यस प्रर्दशनीमा नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, नेपाल सरकार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कर्णाली प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र चितवनका स्थानीय पालिकाहरुले प्रबर्धन सहयोग सहित सिफारिस गरेका ६० स्टल, राष्ट्रिय आविष्कार केन्द्रको विशेष स्टल सहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी २०० भन्दा बढी स्टलहरू रहनेछन् । प्रदर्शनीको बैकिङ पार्टनरको रुपमा राष्ट्रिय वाणिज्य बैंक र पेन्टस् पार्टनरको रुपमा रोयल पेन्टस् प्रा.लि.रहेको छ ।
औद्योगीकरणका लागि विश्वमा नै सफल र उत्कृष्ट ठहरिएका प्रविधिहरूसँग साक्षात्कारको अवसर सहित अनुसरणका लागि उत्प्रेरणा मिल्ने विश्वास लिइएको यस प्रदर्शनी नेपालको औद्योगिक विकासका लागि कोशेढुङ्गा सावित हुने विश्वास लिइएको छ । चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको पत्रकार सम्मेलनमा चितवन उद्योग संघ गभर्निङ काउन्सिलका अध्यक्ष सोमराज मरहट्टा, नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण प्रसाद अधिकारीले प्रदर्शनीको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
Advertisement




