चितवन/नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै जिल्लामा थप एक सय जनाभन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिने भएको छ । महाधिवेशनको उद्घाटनमा धेरै सवारीसाधन आउने र यातायात व्यवस्थापनमा समस्या हुने देखिएपछि थप ट्राफिक प्रहरी परिचालन गर्न लागिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन तथा वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा थप प्रहरी परिचालन गर्न लागिएको हो । यातायात प्रबन्ध समितिका संयोजक कृष्ण भुर्तेलले महाविधेशन उद्घाटनका दिन जिल्लाको यातायात व्यवस्थापनलाई सहज बनाउन थप जनशक्ति परिचालन गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो । मङ्सिर ९ गतेदेखि नै नारायणगढ र भरतपुर क्षेत्रलाई केन्द्रित गरेर ट्राफिक प्रहरीको थप जनशक्ति परिचालन गर्नेगरी समन्वय भएको भुर्तेलले जानकारी दिनुभयो ।
महाधिवेशन उद्घाटनका दिन आउने सवारीसाधनलाई व्यवस्थित गर्दै यातायातको सहज आवागमन गराउनका लागि अहिलेबाटै गृहकार्य भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख ट्राफिक प्रहरी निरीक्षक भगवानराज थापाले बताउनुभयो । जिल्लामा हाल ४० जना ट्राफिक प्रहरीले काम गरिरहेका भन्दै थप एक सय जना जनशक्तिले ट्राफिक व्यवस्थापनको काम गर्ने थापाले बताउनुभयो । उहाँकाअनुसार महाधिवेशनमा भाग लिन पश्चिमका जिल्लाबाट आउने सवारीसाधनलाई नवलपरासीको गैँडाकोटमा, पूर्वबाट आउने सवारीसाधनलाई केन्द्रीय बस टर्मिनल लगायतका ठाउँमा नारायणगढ मुग्लिन सडक हुँदै आउने सवारीसाधनलाई नेपाल ट्रष्टको कार्यालय, पश्चिम चितवन क्षेत्रबाट आउने सवारीसाधनलाई बेलचोक क्षेत्र र वागीश्वरीमा तथा चितवनकै कालिका नगरपालिकासहितका स्थानबाट आउने सवारीसाधनलाई वीरेन्द्र क्याम्पसको नौ बिघा चौरमा व्यवस्थापन गरिदैछ ।
महाधिवेशन उद्घाटनका दिन सवारी साधनलाई कुन तरिकाले सञ्चालन गर्न दिने भन्ने विषयमा छलफल भइरहेको थापाले बताउनुभयो । एमालेको राष्ट्रिय महाधिवेशनमा पाँच लाख मानिस उतार्नेगरी काम भइरहेका जनपरिचालन समितिले जनाएको छ ।
अनेमसंघ रत्ननगरको सरसफाइ
चितवन/अखिल नेपाल महिला संघ (अनेमसंघ) रत्ननगरको आयोजनामा महाधिवेशन स्थल तथा रत्ननगर नगरपालिकाका विभिन क्षेत्रमा सरसफाइ गरिएको छ ।
नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गरेर सरसफाइ गरिएको अनेमसंघ रत्ननगरकी अध्यक्ष विरञ्जना घिमिरे सापकोटाले बताउनुभयो । सुन्दर रत्नगरलाई रत्न जस्तै बनाउने र बाहिर जिल्लाबाट आउने प्रतिनिधिलाई सफा, सुन्दर नगरीमा स्वागत गर्ने उद्देश्यका साथ सरसफाइ गरिएको अनेमसंघ रत्ननगरकी अध्यक्ष घिमिरेले बताउनुभयो ।

नेकपा एमाले चितवनका ईन्चार्ज तथा महाधिवेशन अनुगमन समिति संयोजक काशिनाथ अधिकारीले अनेमसंघ रत्ननगरकी अध्यक्ष सापकोटालाई कुचो र झाडु दिएर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा अधिकारीले महाधिवेशन सफल बनाउन सबै क्षेत्रको महत्वूर्ण योगदान हुनुपर्ने बताउनुभयो । दुई दिनसम्म गरिने सरसफाइको पहिलो दिन आज टिकौली जंगल छेउबाट निपनी चोकसम्म सरसफाइ गरिएको थियो ।
भोली मङ्गलबार टाँडी चोकसम्म सरसफाइ गरिने सापकोटाले बताउनुभयो । महाविधेशनको बन्दसत्र रत्ननगरमा हुने हुँदा पनि आउने पाहुनालाई सफा शहरमा स्वागत गर्न आतुर भएको अध्यक्ष सापकोटाको भनाइ छ । सरसफाइमा अनेमसंघ रत्ननगर कमिटी, नेकपा एमाले रनपा वडा नम्बर ९ वडा कमिटी र स्थानीयको सहभागिता रहेको थियो । नेकपा एमालेको मङ्सिर १० गतेदेखि १२ गतेसम्म चितवनमा अधिवेशन हुँदैछ ।
मङ्सिर १० गते नारायणी किनारमा महाधिवेशन उद्घाटन हुनेछ भने रत्ननगरको सौराहमा मङ्सिर ११ र १२ गते बन्दसत्र हुनेछ । महिला उद्यमीहरुले उत्पादन गरेका सामग्रीहरुको बिक्री र प्रदर्शनी गर्नका लागि अनेमसंघले बन्दसत्र स्थलमा निःशुल्क स्टलको व्यवस्था गरेको सापकोटाले बताउनुभयो ।

मोटरसाइलक ¥यालीको तयारी पूरा
चितवन, ६ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको प्रचार गर्नका लागि आयोजित मोटरसाइलक ¥यालीको तयारी पूरा भएको छ । यही मङ्सिर १० मा चितवनको नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटनका लागि भोलि मङ्गलबार बृहत् मोटरसाइलक ¥यालीको आयोजना गरिएको छ ।
जिल्लाका विभिन्न स्थानबाट महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा भेला भएर दिउँसो १ बजे मोटरसाइकल ¥याली निस्कने तयारी भएको प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले बताउनुभयो । ¥यालीको संयोजन युवा संघ नेपाल चितवनले गरेको छ । मोटरसाइलक ¥यालीमा बृहत् सहभागिता जनाउनेगरी तयारी भएको संयोजक सुवेदीले बताउनुभयो ।
भोलि मङ्गलबार दिउँसो १ बजे नारायणी नदी किनारबाट सुरु हुने मोटरसाइलक ¥यालीले भरतपुर महानगरपालिकाका विभिन्न भागहरु परिक्रमा गर्दै पुनः नदी किनारमा पुगेर समापन हुने सुवेदीको भनाइ छ।




