भरतपुर/उद्यमशीलता विकास र औद्योगिक उत्पादकत्व अभिवृद्धि गर्ने उद्देश्यले चितवनका उद्योगीहरूको छाता संस्थाको रूपमा रहेको चितवन उद्योग संघ र संघको केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा मिडिया स्पेस सोलुसन्स प्रा.लि र Futurex Trade Fair and Events को व्यवस्थापकीय साझेदारीमा चितवन उद्योग संघले चितवन प्रदर्शनी केन्द्रमा हरेक दुई वर्षमा आयोजना गर्दै आएको राष्ट्रिय औद्योगिक प्रदर्शनीको विस्तारित संस्करणको रूपमा हरेक वर्ष नियमित वार्षिक कार्यक्रम अन्तर्गत यसवर्षदेखि अन्र्तराष्ट्रिय औद्योगिक प्रर्दशनीको रूपमा छैटौँ चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी– २०७८ यहि पौष २, ३ र ४ मा चितवन प्रदर्शनी केन्द्र भरतपुर चितवनमा हुन गइरहेको छ ।

प्रर्दशनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी २०० भन्दा बढी स्टलहरू रहने छन् । जसमध्ये लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको सिफारिसमा लघु, घरेलु तथा साना उद्यमी र महिला उद्यमीका लागि ३० वटा निःशुल्क स्टलको व्यवस्था गरिएको छ । प्रदर्शनीमा उत्कृष्ट हुने लघु, घरेलु तथा साना उद्यमीहरूलाई प्रवद्र्धन केन्द्रको तर्फबाट पुरस्कार तथा सम्मान समेत गरिनेछ । यसैगरी प्रदर्शनीमा राष्ट्रिय आविष्कार केन्द्रले आविष्कार गरेका औद्योगिक उपकरणहरूको समेत प्रदर्शनी हुनेछ ।

उद्योगीहरूलाई प्रर्दशनीमा आधुनिक प्रविधिहरूको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने विश्वास लिइएको छ । निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रदर्शनीमा लघु, घरेलु तथा साना उद्योगहरूलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने स–साना औजार, मेशिन देखि ठूला उद्योगका अत्याधुनिक यन्त्रउपकरणहरू र पूर्वाधार निर्माणमा प्रयोग हुने यन्त्र उपकरणको प्रदर्शनी हुने भएकाले नेपालको औद्योगिक विकासमा सहयोग पु¥याउन यो प्रदर्शनी कोशेढुंगा सावित हुने आयोजकको विश्वास छ ।

प्रदर्शनीमा देशभरका उद्योग तथा व्यवसाय गर्न ईच्छुक नवउद्यमीहरू, विभिन्न राष्ट्रका आधुनिक प्रविधि उत्पादकहरू, औद्योगिक प्रविधिबारे जानकारी राख्न चाहनेहरू व्यवसायिक उत्पादकहरू, नेपाली उद्योगहरूका सञ्चालक, लगानीकर्ताहरू तथा उच्च व्यवस्थापकहरू, उद्यमी तथा उद्यमीका व्यवसायिक परामर्शदाताहरू, वित्तिय सेवाप्रदायकहरू, निर्माणजन्य सामग्री उत्पादकहरू तथा निर्माण व्यवसायीहरू, अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधिहरू आदि अवलोकनकर्ताको रूपमा रहनेछन् ।

उक्त प्रर्दशनी नेपाली उद्यमीहरूलाई नयाँ प्रविधिवारे जानकारी गराउँदै युवाहरूलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने, नयाँ उद्यमी जन्माउन सहयोग गर्ने उपयुक्त माध्यमको रूपमा रहनेछ । उद्यमीहरूलाई आधुनिक प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिका लागि प्रोत्साहन गर्ने तथा नविनतम प्रविधि हस्तान्तरणको वातावरण सृजना गर्ने महत्वपूर्ण अवसरको रूपमा रहने अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीमा स्वदेशी एवम् विदेशी उद्योगीहरू बीच प्रत्यक्ष भेटघाट र छलफल हुन गई ब्राण्ड विस्तार तथा अनुभव आदानप्रदान सहति औद्योगिक ज्ञान अभिवृद्धिको महत्वपूर्ण अवसर हुनेछ । यसले स्वदेशी औद्योगिक उत्पादनको अन्तराष्ट्रिय बजारीकरणमा समेत योगदान पु¥याउने आयोजकको विश्वास छ ।

औद्योगिक प्रवद्र्वनका लागि विषय विज्ञको उपस्थितिमा अन्तरक्रिया आयोजना गरिने र औद्योगीकरणका लागि विश्वमा नै सफल र उत्कृष्ट ठहरिएका प्रविधिहरूसँंग साक्षात्कारको अवसरसहित अनुसरणका लागि उत्प्रेरणा मिल्ने उक्त प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफल उद्यमीहरूको विशेष उपस्थितिमा गोष्ठी तथा सेमिनार आयोजना गरिने र सरकारका औद्योगिक कार्यक्रमहरूको बारेमा लक्षित उद्योगीहरूसम्म पु¥याउने उपयुक्त माध्यमको रूपमा रहनेछ । प्रदर्शनी अवधिमा पर्यटन, होटल तथा यातायात सेवा मार्फत देशको आर्थिक कारोबार बढ्ने हुँदा रोजगार तथा आयआर्जनमा सहयोगी भइ दुई वर्षदेखि कोभिड १९ ले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन समेत सहयोग पुग्नेछ ।

यस प्रर्दशनीलाई सफल बनाउनका लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, शिक्षा विकास तथा प्रविधि मन्त्रालय, बागमती प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, राष्ट्रिय आविस्कार केन्द्र, नेपाल घरेलु तथा साना उद्योग महासंघ, चितवनका स्थानीय तहहरू लगायत विभिन्न संघ संस्थाहरूको सहयोगी भूमिका रहेको छ ।





