भरतपुर/दिइएको जिम्मेवारी इमान्दारीपूर्वक, अनुशासित एवं उत्कृष्ट ढंगले सम्पादन गरी विभागीय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी कुशलतापुर्वक कार्य सम्पादन गरेको भन्दै ईलाका प्रहरी कार्यालय खैरहनी चितवनमा कार्यरत प्रहरी हवल्दार बिष्णु मल्ललाई जिल्ला प्रहरी कार्यालय चितवनले “उत्कृष्ट प्रहरी घोषित” गरेको छ । सोमबार एक कार्यक्रम मार्फत जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक ओम प्रसाद अधिकारीले मल्ललाई प्रशंसा पत्र प्रदान गर्नुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाको महिला तथा बालबालिका सेवा केन्द्र दरबन्दी भई ईलाका प्रहरी कार्यालय खैरहनी चितवनमा कार्यरत प्रहरी हवल्दार मल्लले लागूऔषध मुद्दाका फरार प्रतिवादीलाइ सुराकी लगाइ पक्राउ गरी कानुनी दायरामा ल्याई सक्रिय भुमिका निर्वाह गरेको, विभिन्न स्थानहरूमा भएको जुवाखेलमा संलग्नलाइ पक्राउ गर्न सफल भएको, नदीजन्य वस्तुहरु अवैध रूपमा उत्खनन गर्ने ट्याक्टर लाइ नियन्त्रणमा लिन सफल भई विभिन्न अपराध नियन्त्रणमा उल्लेखनीय कार्यहरू गरी प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेको भन्दै मल्ललाई जिल्लाकै “उत्कृष्ट प्रहरी घोषित” गरिएको हो ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै जिल्लाभरका प्रहरी कर्मचारीहरु मध्यबाट प्रत्यक महिना “उत्कृष्ट प्रहरी छनौट” गर्दै आइरहेको जिल्ला प्रहरी कार्यालयले राम्रो काम गर्नेलाई पुरास्कृत र नराम्रो काम गर्नेलाई दण्डित समेत गर्दै आएको छ । व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ कर्तब्य निर्वाह गर्दै आएका मल्ल ब्यवसायिक छवि भएका प्रहरीका रूपमा समेत चिनिन्छन् ।




