भरतपुर/दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै हास्यव्यङ्ग्य र ख्यालठट्टासहित आज काठमाडौँ उपत्यका र नेवार समुदायको बाक्लो बस्ती रहेका मुलुकका मुख्य शहरमा धुमधामका साथ गाइजात्रा (साँपारु) पर्व मनाईंदैछ ।
नेवा समाज भरतपुरले पनि आफ्नो समाजमा आवद्ध भरतपुरका छुट्टाछुट्टै ५ मृतकको घरको मूलढोका अगाडि पुरोहितले क्रियापुत्रद्वारा सङ्कल्प गराई विधि विधानअनुसार पूजा घरबाट नगरपरिक्रमा गराइएको नेवा समाज भरतपुरका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । पूजा गरी निकालेको घिन्ताङघिसी नाचले नगर परिक्रमा गरेसँगै नारायणी नदीमा बिर्सजन गरिएको थियो ।
गाईजात्राको दिन विधिवत्रुपमा गाईलाई नगर परिक्रममा गराएमा मृतात्मा सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास छ । गाईजात्राको दिन स्वर्गमा ढोका खुल्ने र मृतक आत्माले गाईको पुच्छर समातेर वैतणी नदी पार गरी स्वर्गलोकमा पुग्छ भन्ने जनविश्वास समेत रही आएको छ । गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने पर्व हो ।





