चितवनमा जारी निषेधाज्ञालाई भदौ १० सम्मको लागि थप गरिएको छ । चितवनका सीडीओ प्रेमलाल लामिछानेले विज्ञप्तिमार्फत भोलि राति १२ बजेदेखि भदौ १० सम्म निषेधाज्ञालाई निरन्तरता दिएको उल्लेख गरेका छन् । निषेधाज्ञामा सभा, सम्मेलन, प्रदर्शन, सेमिनार, तालिम, सिनेमा, पार्टी प्यालेसलगायत संचालनमा रोक लगाईएको छ ।
Advertisement
त्यस्तै बढी भिडभाड हुने प्रशासन, मालपोत, नापी, यातायात कार्यालयमा नियमित सेवा स्थगित गरिएको छ । अत्यावश्यक तथा आन्तरिक काम भने जारी रहनेछ । खाद्यान्न, तरकारी, फलफूल, दूध डेरी, माछा–मासु, अण्डा, दाना, ग्यास, पूजा पसलहरू हरेक दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म संचालन गर्न पाइनेछ ।
इलेक्ट्रोनिक, भाँडा, कपडा, फेन्सी, कस्मेटिक, सुनचाँदी, फर्निचर, जुत्ता चप्पल, टेलरिङ, पुस्तक पसल हप्ताको ३ दिन आइतबार, मंगलबार र बिहीबार दिउँसो १२ देखि साँझ ६ बजेसम्म खुल्न पाउने छन । यस्तै खाजा घर, रेष्टुरेण्ट, मिठाई पसल दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म खुल्नेछन् । सार्वजनिक सवारी संचालनमा जोर–बिजोर प्रणालीलाई निरन्तरता दिइएको छ ।