भरतपुर/नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमणको जोखिम चितवनमा अझैसम्म उच्च रेको हुँदा उक्त संक्रमणको रोकथाम र नियनत्रणका लागि नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय, कोभिड–१९ संकट व्यवस्थापन गर्न बनेको अध्यादेश, २०७८ को दफा (४), संक्रमण रोग ऐन २०२० को दफा (२) र स्थानीय प्रशासन ऐन २०२८ को दफा (६) को उपदफा (३) को आदेश बमोजिम जिल्ला प्रशासन कार्यालय चितवनले जारी निषेधाज्ञा जेठ २७ गतेसम्म लम्बिएको बताएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेश अनुसार २०७८ असार ०३ गतेसम्म चितवन जिल्लाभर लागू हुने गरी निषेधाज्ञा निरन्तर लम्बिएको जनाइएको छ ।


जारी आदेशमा अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन, हिडडुल गर्न नपाईने अत्यावश्यक काममा निस्कदा अनिवार्य माक्स लगाउने, भौतिक दुरी कायम गर्ने तथा तोकिएको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने लगायतका विषयहरु समेटिएका छन् । जारी गरिएको तीन पेज लामो आदेश पत्रमा निषेधाज्ञाका समयमा सञ्चालन गर्न मिल्ने र नमिल्ने उद्योग, व्यवसाय एवं कार्यालयहरुको बारेमा समेत जानकारी दिईएको छ ।




