उदार राजाको छवि बनाएका वीरेन्द्रको वंशनाशपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन। हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरिएको थियो । राजा वीरेन्द्रपछि उनका माइला भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भए । उनी नै नेपालको इतिहासमा अन्तिम राजा बनेका छन् । उक्त हत्याकाण्डमा तत्कालीन युवराज दीपेन्द्र शाहलाई मुख्य दोषी देखाइएको थियो । सरकारद्वारा गठित छानविन समितिहरुले दीपेन्द्रले केही समययता भएको पारिवारिक विवादका कारण बाबुआमा, भाई र बहिनीसमेतमाथि गोली चलाएको निष्कर्ष निकालेको थियो । त्यसपछि उनी स्वयंले आत्महत्या गरेको भनिएको छ । तर अहिलेसम्म जनमानसले दीपेन्द्रले गरेका हुन् भनेर पत्याएका छैनन् ।
प्रधानन्यायाधीश संयोजकत्वको समितिपछि उक्त घटनाको कुनै स्वतन्त्र अनुसन्धान भएको छैन । तर बेलाबेलामा सरकारी तवरबाटै यसको छानविनको माग भने उठ्ने गरेको पाइन्छ । यद्यपि राजनीतिक प्रतिशोधका कारण यस्ता माग उठ्ने गरेको भए पनि यस हत्याकाण्डको सत्य घटना सार्वजनिक गर्नेतर्फ चासो दिने गरेको पाइँदैन । तत्कालीन माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको दोस्रो मन्त्रिपरिषदमा गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका विमलेन्द्र निधिले दरबार हत्याकाण्डको छानबिन गर्नुपर्ने कुरा उठाएका थिए । त्यतिबेला यो प्रस्ताव मन्त्रीपरिषद्सम्म पुगेको भएपनि पछि त्यसै सेलायो । राजगद्दीबाट फालिएपछि पनि ज्ञानेन्द्रले राजनीतिक वक्तव्यबाजी गर्न नछाडेको प्रतिशोधमा निधिले त्यतिबेला छानबिनको कुरा उठाएका थिए । तर पछि यो कुरा अघि बढाइएन ।




