केवलकारले एक घण्टामा ६०० जनालाई सेवा दिने उनले बताए । स्थानीय समेत साझेदार हुने भएपछि गैंडाकोटवासी उत्साहित भएका छन् । ढकालका अनुसार स्थानीयको सहयोगका कारण परियोजना सहज रुपमा निर्धारित समयमै सम्पन्न गर्न सकिने छ ।
गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले यहाँको पर्यटन प्रवद्र्धनमा केवलकारले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने, “यसले नगर क्षेत्रको पर्यटकीय विकासमा महत्वपूर्ण योगदान पु¥याउँछ ।” यसले स्थानीय स्तरमा रोजगारीको सिर्जना हुनुको साथै होटल रेष्टुरेन्ट व्यवसाय पनि फस्टाउने पौडेल बताउछन् । स्थानीय सरकारले यस्ता परियोजनालाई प्रोत्साहन गर्ने उनको भनाइ छ ।
उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य समेत रहेका जिल्ला उद्योग वाणिज्य संघ पूर्व नवलपरासीका अध्यक्ष अमृत भट्टचनले यो जिल्लाकै गौरवको आयोजना हुने बताए । एक वर्षपछि यहाँको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने उनले बताए । धार्मिक सेवा समिति मौलाकालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिग्राम सापकोटाका अनुसार विगतका वर्षहरुको तथ्याङ्क हेर्दा वार्षिक यहाँ दुई लाख ५० हजारदेखि २ लाख ७५ हजारसम्म दर्शनार्थी आउने गरेका छन् । उनले भने, “देशैभरिबाट दर्शनार्थी आउछन् । केवलकार बनेपछि यो सङ्ख्या अझै बढ्नेछ । ”
मन्दिर क्षेत्रमा कालिकाको मुख्य मन्दिर रहेको छ । उत्तरतर्फ भैरव मन्दिर, पश्चिममा होमनकुण्ड र चर्तुमुखी शिवालय रहेको छ । मन्दिर क्षेत्रमा १२५ जना अट्ने सभाहल, ३० जना क्षमताको धर्मशाला रहेको छ । सो ठाउँमा १७५ जनासम्म खान बस्नको व्यवस्था छ । मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ यहाँ तीर्थालुहरु आउने गर्दछन् ।





