चितवन । भरतपुर महानगरपालिकाले कोभिड १९ रोकथाम तथा उपचारमा प्रभावकारी कदम चालेको जनाएको छ । महानगरभित्रका कुनै पनि संक्रमित बिरामीलाई अस्पतालसम्म ल्याउन व्यवस्था गरेको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले कोभिड १९ को रोकथाम र उपचारको लागि महानगर प्रमुख नेतृत्वमा समिति गठन गरी २९ वटै वडामा वडा अध्यक्षको संयोजकत्वमा सर्वपक्षी समिति गठन गरिएको बताइन् । उनले कोरोनाका लक्षण देखिएकाहरूलाई स्वास्थ्यकर्मीको सम्पर्कमा राखिएको र आवश्यक परेका बिरामीहरूलाई अस्पतालसम्म ल्याउने व्यवस्था गरेको बताइन् । उनका अनुसार स्वास्थ्य विज्ञहरू स्वास्थ्य संस्था प्रमुखहरू र स्थानीय प्रशासनसंग जोखिम न्यूनिकरण र प्रभावकारी उपचारका लागि समन्यव गरी महानगर अगाडि बढेको छ ।

प्रमुख दाहालले हरेक टोल टोलमा माइकिङ्ग मार्फत सचेतना कार्यक्रम गरिएको बताइन् । महानगर प्रमुख दाहालका अनुसार बिरामीहरूलाई समयमै अस्पतालको पहुँच पुर्याउन हाललाई २ वटा एम्वुलेन्स स्टाण्डवाई राखिएको र जानकारी पाउन साथ बिरामीलाई अस्पतालमा ल्याउने व्यवस्था मिलाइको छ। भरतपुर महानगर उपप्रमुख पार्वती शाहले स्थानीय प्रशासनले जारी गरेको निषेधआज्ञालाई सफल पार्न समन्वय गरिएको बताइन् । उनले भनिन्, ‘संक्रमितहरूलाई स्वास्थ्यसम्बन्धी परामर्श प्रदान गरिएको छ ।’




