भरतपुर/चितवन उद्योग संघको वस्तुगत सदस्य चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फ्रेबिकेशन उद्योग समिति र पूर्वी चितवन सटर ग्रिल उद्योग समन्वय समितिको बीचमा पौष २० गते कार्यगत एकता घोषणा गर्ने गरी कार्यगत एकताको विषयमा सहमती पत्रमा हस्ताक्षर गरियो ।
चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फ्रेबिकेशन उद्योग समितिका अध्यक्ष तारा बहादुर कार्की र पूर्वी चितवन सटर ग्रिल उद्योग समन्वय समितिका अध्यक्ष दिलिप प्रसाद खनालले संयुक्त रुपमा सहमती पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
चितवन उद्योग संघका सभाहलमा सम्पन्न सहमति पत्रमा पूर्वी चितवन सटर ग्रिल उद्योग समन्वय समितिलाई जिल्लाको एकाई समितिको रुपमा गठन गर्ने, पूर्वी चितवनका सम्पूर्ण सदस्यहरुले व्यक्तिगत रुपमा आफ्नो उद्योगको सदस्यता जिल्लामा लिने, पूर्वी चितवनका सम्पूर्ण सदस्यहरु व्यक्तिगत रुपमा नै जिल्ला समितिले सञ्चालन गरेको विमा कार्यक्रममा आवद्ध हुने, इकाई समिति सञ्चालनका लागि पूर्वी चितवनका उद्योगहरुबाट उठेको सदस्यहरुको सदस्यता शुल्क तथा नविकरण शुल्कबाट ४०% सम्बन्धित इकाईको खर्चमा प्रयोग गरिने, इकाईका अध्यक्ष स्वतः जिल्लाको कार्यसमिति सदस्यमा र अन्य एक जना आमन्त्रित सदस्यको रुपमा आउने व्यवस्था गर्ने, पूर्वी चितवनमा भएको हालसम्मको सम्पूर्ण आर्थिक दायित्व इकाई सञ्चालन सहयोगार्थ सम्बन्धित इकाईमा नै राख्ने, विमा परिचालन सापटी तथा सचिवालय खरिदका लागि जिल्लाले हालसम्म गरेको सहयोगमा सहयोग पुग्ने गरी पूर्वी चितवन इकाईबाट एकमुष्ठ रुपमा सहयोग गर्ने, इकाईलाई कर्मचारीको आवश्यक महशुस भएमा जिल्ला कार्यसमितिको निर्णय अनुसार आवश्यकता अनुसार व्यवस्थापन गर्ने, इकाईको बार्षिक आर्थिक क्रियाकलापलाई जिल्लाको लेखा परीक्षण प्रतिवेदनको अनुसूचीमा समावेश गर्ने, जिल्लाको नियमित बैठक अगाडि इकाईको बैठक बसी सम्बन्धित इकाईमा भएका गतिविधिहरुको रिपोटिङ जिल्लाको बैठकमा अनिवार्य रुपमा गर्ने, हरेक वर्ष जिल्ला समितिको साधारण सभा तथा अधिवेशन अगाडि इकाईको साधारणसभा तथा अधिवेशन गरिसक्नुपर्ने, इकाई समिति गठन गर्दा बढिमा ९ जना सम्मको बनाउने र इकाईलाई प्रभावकारी बनाउन अन्य उपसमितिहरु गठन गर्ने लगायतका विषयमा हस्ताक्षर गरिएको थियो ।
चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सहजीकरण गर्नुभएको कार्यक्रममा चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फ्रेबिकेशन उद्योग समितिको तर्फबाट उपाध्यक्षहरु शान्ता न्यौपाने, कृष्णप्रसाद भण्डारी, कोषाध्यक्ष राजकुमार श्रेष्ठ, सह–सचिव दुर्गालाल सापकोटा, सदस्यहरु सूर्यप्रसाद तिमिल्सिना, रामहरि कँडेल, वीरेन्द्र बहादुर दवाडी, विवेक देवकोटा र पूर्वी चितवन सटर ग्रिल उद्योग समन्वय समितिको तर्फबाट सल्लाहकार गोविन्द प्रसाद खनाल, कोषाध्यक्ष मोहन सुवेदीलगायतको सहभागिता रहेको थियो ।





