भरतपुर, ३ पौष/चितवन उद्योग संघ र चितवन औद्योगिक विकास बचत तथा ऋण सहकारी संस्थामा आवद्ध रहेका क्रेट उत्पादक उद्योगहरुको स्थलगत अवलोकन सँगै सदस्यता बिस्तार अभियान सम्पन्न भएको छ ।
चितवन उद्योग संघका उपाध्यक्ष, रत्ननगर इकाई समितिका अध्यक्ष एवं संगठन बिस्तार एवं सदस्यता वृद्धि विभागका संयोजक गजेन्द्र अधिकारीको नेतृत्वमा गएको टोलीले संघमा आवद्ध भएका क्रेट उद्योगहरु र अन्य क्रेट उद्योगहरुको समेत स्थलगत अवलोकन गरेको थियो । अवलोकन सँगै क्रेट उत्पादक उद्योगहरुको अवस्था, उद्योगहरुमा परेका समस्या र त्यसको समाधानका विषयमा छलफल समेत गरिएको थियो । अवलोकनकै क्रममा उद्योगहरुमा जिल्लाका सुरक्षा निकायहरुको सम्पर्क नम्बर सहित चितवन उद्योग संघको लोगो अंकित सुरक्षा स्टिकर समेत टाँस गरिएको थियो ।
अवलोकनमा चितवन उद्योग संघको वस्तुगत सदस्य चितवन क्रेट उत्पादक संघका अध्यक्ष मुन्ना पाण्डे (अमन), क्रेट उत्पादक संघका निवर्तमान अध्यक्ष एवं चितवन उद्योग संघका कार्यसमिति सदस्य दण्डपाणी भट्ट, संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, चितवन क्रेट उत्पादक संघका पदाधिकारी एवं क्रेट उत्पादक उद्योगीहरुको सहभागिता रहेको थियो ।





