भरतपुर, २९ मंसिर/चितवन उद्योग संघले रोजगार गर्न इच्छुक जनशक्तिको पहिचान गरी आवश्यक तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रम मार्फत स्वरोजगार बन्न सहयोग पु¥याउने र जनशक्तिको अभावका कारण उद्योग, व्यवसायले भोग्नु परेको समस्या समाधानमा सहयोग पु¥याउने उद्देश्य अनुरुप रोजगार बैंक कार्यक्रम सञ्चालन गर्ने र महानगरभित्रका उद्योगसँग सम्बन्धित सम्पूर्ण तथ्याङ्कहरुलाई अद्यावधिक गर्ने गरी औद्योगिक सूचना केन्द्र स्थापना गर्ने योजना बनाएको प्रस्तावना आज एक कार्यक्रमका बीच पेश गरिएको छ ।

चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई उक्त प्रस्तावना पेश गर्नुभएको थियो । प्रस्तावना पेश कार्यक्रममा भरतपुर महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेन्द्र प्रसाद पौडेल, लेखा अधिकृत जगन्नाथ अर्याल, संघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल, उपाध्यक्षहरु दुर्गा प्रसाद भण्डारी, युग राज वस्ती, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, सञ्चार अधिकृत राजु भट्टलगायतको उपस्थिति रहेको थियो ।
यसअघि पनि संघले औद्योगिक प्रबर्धन र रोजगारी सिर्जनाका सम्बन्धमा भरतपुर महानगरपालिकासँगको सहकार्यमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको थियो ।





