भरतपुर/भरतपुर–७ कृष्णपुरमा करीब १७ कठ्ठा क्षेत्रफलमा निर्माण भएको चितवन गार्डेन रिसोर्ट प्रा.लि.ले मंसिर १६ गते मंगलबार रिसोर्टको वास्तु पुजा गरी शेयर सदस्यहरुबीच भेटघाट एवं छलफल गरेको छ ।
भेटघाट एवं छलफल कार्यक्रममा सम्पूर्ण शेयर सदस्यहरु र शेयर सदस्यका परिवारजनहरुलाई प्रत्यक्ष सहभागिता गराई रिसोर्टको हालसम्मको लगानीको अवस्था, निर्माण अवस्थाका बारेमा जानकारी गराईएको थियो । रिसोर्टमा सहभागी शेयर सदस्यहरुलाई रिसोर्टकै कुक, सेफहरुबाट पकाईएका खानाका स्वादहरु समेत टेष्ट गरार्ईएको थियो । करीब ३० करोडको लगानीमा निर्माण भएको रिसोर्टमा ३८ जना शेयर सदस्यहरुको लगानी रहेको प्रबन्ध निर्देशक तेजप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
रिसोर्ट परिसरमा विभिन्न जन्मदिन, बिहे, ब्रतबन्ध, लाईभ म्युजिक कार्यक्रमको लागि मञ्चसहितको खुल्ला चौरसमेत रहेको छ । प्राकृतिक, हरियाली मनोरम वातावरणका साथै रिसोर्टबाट गैंडाकोटको मौलाकालिका मन्दिर, पर्वतीय श्रृंखला तथा एयरपोर्टको दृश्यावलोकन गर्न सकिने प्रबन्ध निर्देशक घिमिरेले जानकारी दिनुभयो ।
रिसोर्टमा सेन्ट्रल एसी हलसहितको १ हजार जना अटाउने सभाहल, २०० जना क्षमताको व्याँक्वेट हल र २५ जना क्षमताको मिटिङ्ग हल गरी छुट्टाछुट्टै चार वटा हल निर्माण गरिएको छ । रिसोर्टमा २८ ओटा प्रिमियम, स्ट्यान्डर्ड कोठाहरु, जिम क्लब, आकर्षक फूलबारी, स्वीमिङ पुलका साथै सूचना तथा प्रविधिमैत्री लगायतका सुविधा रहेको रिसोर्टका अपरेसनल डाइरेक्टर मनिष शर्माले जानकारी दिनुभयो ।
रिसोर्टमा आउने पर्यटकहरुलाई ध्यानमा राखेर सौराहा, चितवन राष्ट्रिय निकुञ्ज, देवघाट, मेघौली, माडी लगायतका पर्यटकीय गन्तव्य स्थल घुमाउन रिसोर्टले प्याकेज टुरको समेत व्यवस्था गर्ने योजना रहेको रिसोर्टका अपरेसनल डाइरेक्टर मनिष शर्माले जानकारी दिनुभयो । कार्यक्रम रिसोर्टका अध्यक्ष अशोक श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।





