चितवन/भरतपुर–१ बागीश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वतीशाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी, प्रवक्ता अरुण पीडित भण्डारी, प्रदेश सांसद् विजय सुवेदी डा. भोजराज अधिकारी लगाएत जिल्लाका जनप्रतिनिधि र प्रशासकहरुको निकै सुझबुझ र पहलकदमीमा सञ्चालित कोभिड १९ आइसोलेसन केन्द्रलाई विभिन्न दाताहरुले पनि सहयोग पु¥याउँदै आएका छन् । मंसिर ७ गते नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले उपचाररत संक्रमितहरुलाई जाडोमा न्यानोका लागि केही सहयोग सामग्री प्रदान गरेको छ । नेरेसोबाट हाललाई २५ थान कम्बल र १० थान त्रिपाल सहयोग भएको हो । आइसोलेसन सेन्टरमै पुगेर नेपाल रेडक्रस सोसाइटी चितवन शाखा सभापति ज्ञानशाली न्यौपानेले चिकित्सालयका अध्यक्ष कमल मल्ल र आइसोलेसन केन्द्र संयोजक ऋषिराज पाण्डेलाई संयुक्त रुपमा सामग्री हस्तान्तरण गर्नुभयो । उक्त सहयोग हस्तान्तरणको अवसरमा एउटा घेरामा उपचाररत संक्रमितहरु समेतको सहभागिता हुने गरी चिकित्सालयले औपचारिक कार्यक्रम आयोजना गरेको थियो ।
बागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमका अध्यक्ष शैलेन्द्र पियाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा रेडक्रसका पदाधिकारी सदस्यहरु, चिकित्सालयका पदाधिकारी एवम् डाक्टर, कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित भरतपुर–१४ का वडा अध्यक्ष ओमप्रसाद पोखरेलले यहाँ उपचार गरेका सबै बिरामीले उपचार सेवा राम्रो भएको बताइरहँदा खुसी लाग्ने गरेको बताउनुभयो । भरतपुर महानगरपालिका विपद् व्यवस्थापन फोकल पर्सन जीवलाल कुँवरले यो आइसोलेसन केन्द्र सञ्चालनमा चिकित्सालयको अतुलनीय योगदान रहेको भन्दै सहयोगी हातहरु प्रति आभार प्रकट गर्नुभयो । प्राप्त सहयोगहरुले केन्द्रको व्यवस्थापनतथा सञ्चालनमा निकै सहयोग पुगेको र महानगरलाई राहत मिलेको उहाँले बताउनुभयो ।
भदौ १४ गतेबाट सञ्चालनमा आएको यस आइसोलेसन केन्द्रमा हालसम्म ३६६ जना कोरोना संक्रमित भर्ना भएकामा ३४६ निको भएर घर फर्किसकेको चिकित्सालयका निर्देशक डाक्टर हेमराज कोइरालाले जानकारी दिनुभयो । यसअघि यस आइसोलेसन केन्द्रमा राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनबाट २ थान सि प्याप मेसिन सहयोग भइसकेको छ । यसैगरी लण्डनमा बस्ने नेपालीहरुले रकम संकलन गरी अक्सिजन दिने मेसिन उपलब्ध गराएको पनि सो अवसरमा डा. कोइरालाले बताउनुभयो । यसैगरी गृहमन्त्रालयबाट २२ लाखमूल्य पर्ने एउटा ठूलै टेन्ट अनि रोटरी क्लबबाट गिजर, खेलसामग्री, हेलोजन बत्ती सहयोग प्राप्तभएको पनिउहाँले बताउनुभयो ।
यसैगरी लायन्स क्लब र केदार श्रेष्ठबाट ३०/३० थानकुर्सी, नारायणगढस्थित लोकमानप्लाजाका सञ्चालक ज्ञानेन्द्रमान शाक्यबाट योगा स्टेज, डिस्प्ले बोर्ड, उपचारपश्चात् निको भइगएका मनोज बरनवालबाट ५ थान कुर्सी सहयोग भएको उहाँले जनाउनुभयो । सहयोग सानो ठूलो वा धेरै थोरै जति भएपनि सबै सबै सहयोगले केन्द्रको सञ्चालन एवम् व्यवस्थापनमा ठूलै टेवा पुगिरहेको परिषद्का अध्यक्ष शैलेन्द्र पिया बताउँछन् । अन्य हस्पिटलको औषधि उपचारबाट थाकेर आएका पीडितहरुको पनि यहाँ सफलताका साथ उपचार भइरहेको भन्दै उहाँले चिकित्सालय प्रति गर्व गर्नुभयो, आफूहरुको आत्मशक्तिअझ बढेको बताउनुभयो । डा. कोइरालादारा सञ्चालित कार्यक्रममा चिकित्सालयका प्रशासक कमल पाण्डेले स्वागत मन्तव्य राख्नुभएको थियो ।





