भरतपुर/चितवन उद्योग संघ, युवा उद्यमी मञ्चको आयोजनामा ‘चितवन आन्ट्रप्रेनरसिप समिट (CES) २०२७’ को औपचारिक घोषणा तथा विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवम् चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले उद्यमशीलता प्रवद्र्धन र नवप्रवर्तनका क्षेत्रमा युवाहरूको भूमिका अग्रणी रहने बताउनुभयो । उहाँले आगामी २०२७ मा आयोजना हुन लागेको समिटले स्थानीय उद्यमशीलतालाई नयाँ उचाइमा पु¥याउन, नयाँ लगानी भि¥याउन तथा स्टार्टअपहरूलाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमा जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका पूर्व अध्यक्ष सुरेन्द्र कार्कीले युवा उद्यमीहरूलाई संगठित गर्दै व्यावसायिक दक्षता अभिवृद्धि गर्न र सामूहिक सहकार्यलाई अघि बढाउन यस्ता कार्यक्रम फलदायी हुने धारणा राख्नुभयो ।
यसअघि कार्यक्रममा स्वागत मन्तव्य राख्दै युवा उद्यमी मञ्चका सचिवालय निर्देशक अनिष पौडेलले कार्यक्रमको औचित्य तथा ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । उहाँले युवाहरूलाई उद्यमशीलतामा आकर्षित गर्न, ज्ञान तथा अनुभव आदानप्रदान गर्न र व्यवसाय विस्तारका सम्भावना उजागर गर्न समिट केन्द्रित रहने प्रस्तुतिकरणमार्फत जानकारी गराउनुभयो ।
युवा उद्यमी मञ्चका निर्देशक प्रबिण काफ्लेले सञ्चालन गर्नुभएको कार्यक्रमलाई युवा उद्यमी मञ्चका अध्यक्ष भरत दवाडीले उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै विजया दशमीको शुभकामनासहित कार्यक्रम समापन गर्नुभयो ।





