काठमाडौं/राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । राजधानीमा आइतबार आयोजित विशेष समारोहमा नेपाली कला, संस्कृति तथा संगीत क्षेत्रको संरक्षण, प्रवर्द्धन र व्यावसायिक विकासका विषयमा व्यापक चर्चा गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाली संगीतलाई मनोरञ्जनको क्षेत्रका रूपमा मात्र नभई प्रतिस्पर्धी र सिर्जनात्मक उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । उनले संगीत क्षेत्रले नेपालको मौलिकता, संस्कृति र राष्ट्रिय पहिचानलाई विश्वसामु चिनाउने महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए ।
अग्रवालले नेपाली कलाकार तथा स्रष्टालाई सिर्जनासँगै दिगो व्यावसायिक करियर निर्माण गर्ने वातावरण बनाउनुपर्ने बताए । विशेषगरी नयाँ पुस्ताका प्रतिभालाई अवसर प्रदान गर्नुकाढअझ साथै ग्रामीण तथा दुर्गम क्षेत्रका कलाकारलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउन राज्य तथा निजी क्षेत्रले सहकार्य गर्नुपर्ने उनको भनाइ थियो ।
उनले कलाकारको सिर्जनात्मक अधिकारको संरक्षण, उचित पारिश्रमिक, प्रतिलिपि अधिकारको प्रभावकारी कार्यान्वयन तथा डिजिटल रोयल्टीमा पारदर्शिता कायम गर्नुपर्ने आवश्यकता औंल्याए । डिजिटल प्रविधि, सामाजिक सञ्जाल, स्ट्रिमिङ प्लेटफर्म तथा कृत्रिम बौद्धिकता (एआई) को बढ्दो प्रयोगले संगीत क्षेत्रमा नयाँ सम्भावना सिर्जना गरेको उल्लेख गर्दै उनले प्रविधिको विकाससँगै कलाकारको सिर्जनामाथिको अधिकार अझ बलियो बनाउनुपर्ने बताए ।
‘सिर्जना गर्ने कलाकारले आफ्नो सिर्जनाबाट उचित लाभ पाउने व्यवस्था हुनुपर्छ,’ उनले भने, ‘डिजिटल माध्यमको विस्तारसँगै नेपाली संगीतको बजार पनि विस्तार हुँदै गएको छ । त्यसलाई व्यवस्थित र पारदर्शी बनाउन आवश्यक छ।’
अग्रवालले नेपाली लोकसंगीत, हिमाली तथा पहाडी क्षेत्रका मौलिक धुन र तराईका सांस्कृतिक भाकाले नेपालको विशिष्ट सांस्कृतिक पहिचान निर्माण गरेको उल्लेख गरे । नेपाली संगीतलाई पर्यटन प्रवर्द्धन, सांस्कृतिक कूटनीति तथा अन्तर्राष्ट्रिय बजार विस्तारसँग जोड्न सकिने उनको धारणा थियो ।
उनले कलाकारलाई राष्ट्रका सांस्कृतिक दूतका रूपमा चित्रण गर्दै संगीत क्षेत्रको दीर्घकालीन विकासका लागि सरकार, निजी क्षेत्र, सञ्चारमाध्यम तथा प्रविधि क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको बताए ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक कुमार मल्होत्राले नेपाली कला, संस्कृति, संगीत तथा चाडपर्वले सामाजिक सद्भाव, आपसी एकता र राष्ट्रिय पहिचानलाई थप मजबुत बनाउने बताए । कला, साहित्य र संगीत क्षेत्रको संरक्षण तथा प्रवर्द्धनमा राज्यले प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उनले कलाकार, सञ्चारकर्मी र निजी क्षेत्रबीच सहकार्य बढाउनुपर्ने बताए ।
२२ देशमा राष्ट्रिय संगीतकर्मी संघको विस्तार
राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय अध्यक्ष प्रकाश कटुवालले संघले नेपालसँगै विदेशमा समेत आफ्नो संगठन विस्तार गर्दै आएको जानकारी दिए । उनका अनुसार संघका शाखा २२ देशमा विस्तार भइसकेका छन् ।
संगीतको कुनै निश्चित भूगोल नहुने उल्लेख गर्दै कटुवालले नेपालभित्र मात्र नभई विश्वका विभिन्न मुलुकमा रहेका नेपाली संगीतकर्मी तथा कलाकारलाई एउटै संगठनात्मक छातामुनि जोड्ने अभियान अघि बढाइएको बताए ।
कलाकारको सुखदुःखमा साथ दिनु संघको प्रमुख उद्देश्य रहेको बताउँदै उनले स्रष्टा तथा कलाकारको सम्मान, संरक्षण र अधिकारका विषयमा संघ निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।
‘कलाकारले आफ्नो सिर्जनाका कारण सम्मानित र सुरक्षित महसुस गर्न सक्ने वातावरण निर्माण गर्नु हाम्रो दायित्व हो,’ कटुवालले भने ।
उनले संघको अभियानमा सहयोग तथा सहकार्य गर्ने कलाकार, स्रष्टा, सञ्चारकर्मी, व्यवसायी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरे ।
विभिन्न क्षेत्रका व्यक्तित्वको उल्लेख्य सहभागिता
दसैंलगायतका चाडपर्वको शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मानका लागि आयोजना गरिएको कार्यक्रममा कला, संगीत, पर्यटन, व्यवसाय, सञ्चारलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा हिमालयन सोसियल जर्नीका अध्यक्ष तथा पर्यटन व्यवसायी रामप्रसाद सापकोटासहित राजेश मास्के, विनोद श्रेष्ठ, सुनिल कुँवर, सन्दीप तामाङ, नारायण सापकोटा, शंकर आचार्य, मुना निरौला, राम लामा, ऋषिराम आचार्य, रुद्र चापागाईं, विष्णु शिल्पकार, दुःख राई, राजु यह, जीवन चौलागाईं, देवराज साउद, रामबहादुर राई, चुडामणि मैनाली, शंकर कटुवाल, डिबी बोगटी, राम श्रेष्ठ, दीपेश कार्की, उग्रेन लामा, नोर्चेल तामाङ, कबिन्द्र त्रिपाठी, साङ्गे शेर्पा, सरोज ओझा, कबिराज ढकाल, सञ्जय पोखरेल, सिद्धार्थ क्षेत्री, नेत्रबहादुर कार्की, नरेन्द्र क्षेत्री र सुनिल गुर्देलालगायतको उपस्थिति थियो ।
समारोहमा विभिन्न क्षेत्रबाट नेपाली कला, संस्कृति र संगीतको विकासमा योगदान पुर्याएका स्रष्टा तथा व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । सम्मान कार्यक्रममार्फत सिर्जनशील क्षेत्रमा योगदान गर्ने व्यक्तिहरूलाई प्रोत्साहन गर्नुका साथै नयाँ पुस्तालाई समेत कला र संगीत क्षेत्रमा अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको थियो ।
सञ्चारकर्मीलाई पनि विशेष सम्मान
कार्यक्रममा नेपाली कला, संस्कृति र संगीतका गतिविधिलाई निरन्तर सञ्चारमाध्यममार्फत उजागर गर्दै आएका सञ्चारकर्मीहरूलाई समेत विशेष सम्मान गरिएको थियो ।
रातोपाटीकर्मी राजकुमार सिग्देल, पत्रकार राजु भट्टलगायत सञ्चारकर्मीलाई विशेष सम्मान गरिएको आयोजकले जनाएको छ । कला तथा संगीत क्षेत्रको विकासमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको भन्दै कलाकार र सञ्चारकर्मीबीचको सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा कार्यक्रममा जोड दिइएको थियो ।
कार्यक्रम राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय अध्यक्ष प्रकाश कटुवाल तथा संघका उपाध्यक्ष रमेश दुलालको संयोजकत्वमा सम्पन्न भएको हो । उपाध्यक्ष दुलालले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण कलाकार, स्रष्टा, अतिथि, सञ्चारकर्मी तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा संघले अझ प्रभावकारी कार्यक्रम तथा अभियान सञ्चालन गर्ने बताए ।
दसैंको शुभकामना आदानप्रदानसँगै आयोजना गरिएको कार्यक्रमले नेपाली कला, संस्कृति र संगीत क्षेत्रका व्यक्तित्वलाई एउटै मञ्चमा जोड्नुका साथै कलाकारको सम्मान, अधिकार संरक्षण र नेपाली संगीतलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने अभियानलाई थप बल पुगेको आयोजकको विश्वास छ ।




