भरतपुर/चितवन उद्योग संघको ३५ औँ वार्षिक साधारणसभा असोज २६ गते सोमबार बिहान ११ बजे हुने भएको छ। नेपाल सरकारका कानून, न्याय तथा संसदीय मामिला मन्त्री एवम् चितवन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य सोविता गौतमले साधारणसभाको समुद्घाटन गर्ने कार्यक्रम छ।
साधारणसभामा संघको १८ औँ कार्यसमितिको कार्यकालको समीक्षा गर्दै आगामी रणनीतिक कार्यदिशा तय गरिनेछ। स्वदेशी उद्योगको प्रवर्द्धन, लगानीमैत्री वातावरण र उद्योगीहरूको हकहितका लागि पैरवी गर्दै आएको संघले यस पटक कानूनी तथा नीतिगत सुधारलाई मुख्य एजेन्डा बनाएको छ।
विशेषगरी उद्योगीहरूले भोग्दै आएका नीतिगत झन्झट, एकल विन्दु सेवा केन्द्रको पूर्ण कार्यान्वयन, जग्गा प्राप्ति तथा हदबन्दीसम्बन्धी कानूनी जटिलता, र तीन तहका सरकारबीचको दोहोरो कर प्रणाली हटाउन साधारणसभामा घनीभूत छलफल हुनेछ। साथै, स्वदेशी वस्तु खरिद सम्बन्धी कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र लगानी सुरक्षाको प्रत्याभूति गराउन सरकारको ध्यानाकर्षण गराइने संघले जनाएको छ।
चितवनलाई देशकै प्रमुख औद्योगिक हबका रूपमा विकास गर्न आवश्यक रणनीतिक योजना पारित गरी नीतिगत सुधारका लागि सरकारसमक्ष ठोस माग प्रस्तुत गर्ने तयारी संघको छ।




