काठमाडौं /पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा सडक कटान गरी निर्माण गरिएको वैकल्पिक मार्ग सञ्चालनमा आएपछि राजमार्गमा सवारीसाधनको चाप बढेको छ। भदौ १० गते आएको भोटेकोशी तथा त्रिशूली नदीको बाढी र पहिरोका कारण कृष्णभीर क्षेत्रमा सडक क्षतिग्रस्त भएपछि पृथ्वी राजमार्गको यातायात सेवा प्रभावित भएको थियो। मुख्य सडक अवरुद्ध भएपछि यात्रु तथा मालवाहक सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था आएको थियो।
क्षतिग्रस्त सडक क्षेत्रमा वैकल्पिक सडक निर्माण गरी असोज १ गतेदेखि दुवैतर्फ यातायात सञ्चालनमा ल्याइएको हो। दुवैतर्फको सडक सञ्चालनमा आएपछि लामो समयदेखि प्रभावित यातायात सेवा क्रमशः सहज बन्दै गएको छ।
राजमार्ग सञ्चालनमा आएसँगै काठमाडौंलगायत देशका विभिन्न भागबाट आवतजावत गर्ने यात्रु तथा मालवाहक सवारीसाधनको आवागमन बढेको छ। सडक अवरोधका कारण प्रभावित मालसामान ढुवानी तथा यात्रु आवागमनसमेत क्रमशः सामान्य अवस्थामा फर्किन थालेको छ।
पृथ्वी राजमार्ग काठमाडौंलाई देशका विभिन्न जिल्ला तथा प्रमुख व्यापारिक केन्द्रसँग जोड्ने महत्वपूर्ण सडक भएकाले कृष्णभीर क्षेत्रमा यातायात पुनः सञ्चालनमा आउनुलाई आवागमन सहजताका दृष्टिले महत्वपूर्ण मानिएको छ।
Advertisement




