नारायणगढ/सनी सेक्युरिटिज कम्पनी लिमिटेड, ब्रोकर नं. ४२, नारायणगढ शाखाको आयोजनामा “Learn & Earn! – Education and Income: Move Forward Hand in Hand” भन्ने मूल नारासहित वालकुमारी कन्या माध्यमिक विद्यालयका ३४ जना विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न भएको छ।
विद्यार्थीहरूमा शेयर बजार तथा लगानीसम्बन्धी आधारभूत ज्ञान अभिवृद्धि गर्नुका साथै शिक्षा र आम्दानीलाई सँगसँगै अगाडि बढाउँदै ज्ञान तथा सीपको माध्यमबाट भविष्यमा आर्थिक अवसर सिर्जना गर्न सकिन्छ भन्ने अवधारणालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा सनी सेक्युरिटिज कम्पनी लिमिटेडका तर्फबाट प्रमुख वक्ताका रूपमा श्री उज्ज्वल पौडेलले विद्यार्थीहरूलाई शेयर बजारको परिचय, लगानीका आधारभूत पक्ष, प्राथमिक तथा दोस्रो बजार, डिम्याट खाता, मेरो शेयर, ब्रोकरमार्फत शेयर कारोबार तथा लगानी गर्दा अपनाउनुपर्ने सावधानीलगायतका विषयमा जानकारी प्रदान गर्नुभएको थियो।
कार्यक्रमका क्रममा विद्यार्थीहरूले शेयर बजार तथा लगानीसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए। ती जिज्ञासाहरूलाई प्रमुख वक्ता श्री पौडेलले सरल, व्यावहारिक र विद्यार्थीहरूले सहज रूपमा बुझ्ने गरी सम्बोधन गर्नुभएको थियो।
“Learn & Earn! Education and Income: Move Forward Hand in Hand” भन्ने मूल भावनाले विद्यार्थीहरूलाई अध्ययनसँगै वित्तीय ज्ञान, सीप र व्यवहारिक अनुभव हासिल गर्दै भविष्यका आर्थिक अवसरहरूका लागि तयार हुन प्रेरित गरेको थियो।
सनी सेक्युरिटिज कम्पनी लिमिटेड, नारायणगढले आगामी दिनमा पनि विद्यार्थी तथा सर्वसाधारणमा वित्तीय साक्षरता र लगानीसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।





