भरतपुर/प्लास्टिक व्यवसायी संघ, चितवनको पहलमा चितवन उद्योग वाणिज्य संघ (चितवन उवासंघ) द्वारा स्थापित राहत कोष तथा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि रु. ७ लाखभन्दा बढीको आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
चितवन उवासंघको कार्यालयमा आयोजित एक कार्यक्रमका बिच प्लास्टिक व्यवसायी संघ, चितवनका तर्फबाट चितवन उवासंघद्वारा स्थापित राहत कोषका लागि रु. १,११,१११÷– (एक लाख एघार हजार एक सय एघार) को चेक हस्तान्तरण गरियो।
यसैगरी, प्लास्टिक व्यवसायी संघको पहल एवं समन्वयमा ’प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा हुने गरी पिया प्लास्टिक इण्डष्ट्रिज प्रा.लि.का तर्फबाट रु. ५,०५,५५५÷– (पाँच लाख पाँच हजार पाँच सय पचपन्न), सोही इण्डष्ट्रिजमा कार्यरत कर्मचारीहरूको तर्फबाट रु. ६२,०००÷– (बैसठ्ठी हजार) र विष्णु प्लास्टिक उद्योग प्रा.लि.का तर्फबाट रु. २५,५५५÷– (पच्चिस हजार पाँच सय पचपन्न) को चेक हस्तान्तरण गरिएको छ ।
उक्त सम्पूर्ण सहयोग रकमका चेकहरू प्लास्टिक व्यवसायी संघ, चितवनका अध्यक्ष तेजेन्द्र सापकोटाले चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीलाई हस्तान्तरण गर्नुभएको हो।
यसअघि पनि प्लास्टिक व्यवसायी संघ, चितवनले सामाजिक उत्तरदायित्वअन्तर्गत शव व्यवस्थापन कार्यका लागि रु. ७३,३९६÷– बराबरको कालो प्लास्टिक चितवन उवासंघमार्फत उपलब्ध गराइसकेको थियो ।
चेक ग्रहण गर्दै चितवन उवासंघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले सामाजिक एवं विपद् व्यवस्थापनका कार्यमा प्लास्टिक व्यवसायी संघले देखाएको सक्रियता र योगदानको उच्च प्रशंसा गर्दै सम्पूर्ण दाताहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।
हस्तान्तरण कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका उपाध्यक्षद्वय नारायण प्रधान र जनक पौडेल, कार्यक्रम अधिकृत गणेश सुवेदी प्लास्टिक व्यवसायी संघ, चितवनका उपाध्यक्ष रामकृष्ण दवाडी, कोषाध्यक्ष गणेश न्यौपाने, पिया प्लास्टिक इण्डष्ट्रिज प्रा.लि.का प्रबन्ध निर्देशक तेजस पिया तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम तथा सहयोग रकम सम्बन्धी जानकारी प्लास्टिक व्यवसायी संघ, चितवनका सचिव नारायण पौडेलले गराउनुभएको थियो।




