रोटरी क्लब अफ चितवनको आयोजनामा नवलपरासी (पूर्व) को बौदीकाली गाउँपालिका–१, मिथुकराम गाउँमा मिथुकराम खानेपानी तथा सरसफाइ परियोजना को शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । रोटरी इन्टरनेसनलको ग्लोबल ग्रान्टअन्तर्गत सञ्चालन हुने उक्त परियोजनाले मिथुकराम गाउँका १३० परिवारलाई सुरक्षित खानेपानी तथा सरसफाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ ।
कार्यक्रमको अध्यक्षता रोटरी क्लब अफ चितवनका अध्यक्ष रो. गेहेन्द्रमान श्रेष्ठले गर्नुभएको थियो । परियोजनाको पहिलो सम्पर्क व्यक्ति तथा सेवा परियोजना संयोजक रो. इ. गुणेश्वर महतो रहनुभएको छ ।
बौदीकाली गाउँपालिका–१ मा अवस्थित मिथुकराम गाउँ चुरे पहाडको उच्च क्षेत्रमा रहेको दुर्गम बस्ती हो । भरतपुरबाट करिब ६१ किलोमिटर पश्चिम तथा नवलपरासीको दुम्किबास/दलदले क्षेत्रबाट करिब २९ किलोमिटर उत्तरमा रहेको यस गाउँमा करिब १३० परिवारको बसोबास रहेको छ। गाउँमा मुख्यतः दलित, मगर तथा नेवार समुदायको बसोबास रहेको छ। अधिकांश परिवार कृषि तथा दैनिक ज्यालादारीमा निर्भर रहेका छन् ।

हाल गाउँका सबै परिवार ढुंगे धारा तथा अस्थायी पानीका स्रोत र आस्थाइ पाइपमार्फत आउने पानीमा निर्भर छन् । गाउँभन्दा करिब ३५ मिटर तल रहेका दुईवटा मुहानबाट पानी ल्याउन स्थानीयवासीले करिब ३५ मिनेटसम्म हिँड्नुपर्ने अवस्था रहेको छ । वर्षायाममा मुहानको पानी अत्यधिक धमिलो हुने तथा सुख्खा मौसममा मुहानहरू सुक्ने भएकाले पानीको समस्या अझ गम्भीर हुने गरेको छ। सुख्खा महिनामा स्थानीयवासी नजिकका खोला तथा अन्य अस्थायी पानीका स्रोतमा समेत निर्भर हुनुपर्ने अवस्था रहेको छ।
यस समस्याको दीर्घकालीन समाधानका लागि सञ्चालन हुन लागेको परियोजनाको कुल अनुमानित बजेट अमेरीकी डलर ४८०५६ रहेको छ। परियोजनाअन्तर्गत सबै १३० घरधुरीमा सुरक्षित तथा प्रशोधित खानेपानी निजी धारामार्फत उपलब्ध गराउने, सौर्य–हाइब्रिड पम्पिङ प्रणाली स्थापना गर्ने, २० हजार लिटर क्षमताको सम्पवेल निर्माण गर्ने, उकालो क्षेत्रमा रहेको ४० हजार लिटर क्षमताको पानी ट्याङ्की मर्मत गर्ने. आयमुलक तथा स्वच्छता र सरसफाइसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ। परियोजनामा रोटरी क्लब अफ चितवनको क्लब योगदान USD 3,150 रहेको छ ।
परियोजनाले सुरक्षित खानेपानीको पहुँच विस्तार गर्नुका साथै स्थानीय समुदायमा दीगो स्वच्छता तथा सरसफाइसम्बन्धी आनी बानि विकास गर्ने लक्ष्य लिएको छ। गाउँमा करिब एक दशकअघि नै खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेको भए पनि सुरक्षित खानेपानी तथा स्वच्छता व्यवहारलाई थप सुदृढ बनाउनु आवश्यक रहेको परियोजनाले औंल्याएको छ।
कार्यक्रममा रोटरी क्लब अफ चितवनका ग्लोबल ग्रान्ट समितिका अध्यक्ष तथा निर्वाचित अध्यक्ष रो. राजन पियाले परियोजनाको पृष्ठभूमि, उद्देश्य, कार्यान्वयन प्रक्रिया तथा ग्लोबल ग्रान्टअन्तर्गत परियोजनाले पुर्याउने प्रभावबारे विस्तृत जानकारी गराउनुभएको थियो ।
उक्त परियोजनाको अन्तर्राष्ट्रिय साझेदार रोटरी अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ११६०, उत्तरी आयरल्यान्ड तथा आयरल्यान्ड रहेको छ भने निडिजी साझेदारका रूपमा रहेको छ । परियोजनालाई बौदीकाली गाउँपालिकाको समेत रु. ५००,०००/- सहयोग रहेको छ। सुरक्षित खानेपानी, स्वच्छता र स्वस्थ जीवनशैलीको पहुँचलाई मौलिक आवश्यकताका रूपमा स्थापित गर्दै मिथुकरामका १३० परिवारको जीवनस्तरमा दीर्घकालीन सुधार ल्याउने यस परियोजनाले “स्वार्थभन्दा माथि सेवा” भन्ने रोटरीको मूल भावनालाई समुदायस्तरमा सार्थक रूपमा अघि बढाउने विश्वास लिइएको छ ।
उक्त कार्यक्रममा क्लबको तर्फ बाट अधक्ष्य रो. गेहेन्द्र मान श्रेष्ठ, ग्लोबल ग्रान्ट कमिटी का संयोजक तथा क्लब का निर्वाचित अधक्ष्य रो राजन पिया, परियोजनाको पहिलो सम्पर्क व्यक्ति तथा सेवा परियोजना संयोजक रो. इ. गुणेश्वर महतोज्यु को उपस्थिति रहेको थियो । साथै, निडिजीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्वेता खड्का तथा परियोजना संयोजक आदित्य पौडेलको समेत उपस्थिति रहेको थियो ।




