काठमाडौं/कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा ११ भदौमा ‘महिला उद्यमशीलता सम्मेलन २०८३’ हुने भएको छ । सम्मेलन कांग्रेस केन्द्रीय कार्यालय, सानेपा परिसरमा आयोजना गर्न लागेको प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
महिलाको आर्थिक सशक्तीकरण, उद्यमशीलताको प्रवर्द्धन तथा नेपालको आर्थिक रूपान्तरणमा महिला उद्यमीको भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । सम्मेलनमा स्टार्टअप, एमएकएमइ तथा एसएमइ क्षेत्रमा कार्यरत महिला उद्यमीबीच अनुभव आदानप्रदान, लगानी तथा वित्तीय पहुँच, बजार विस्तार, प्रविधिको प्रयोग र नेटवर्किङका विषयमा छलफल हुनेछ ।
सम्मेलनसँगै ८० भन्दा बढी महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनीसमेत हुनेछ । प्रदर्शनीमा महिला उद्यमीले आफ्ना उत्पादन तथा सेवा उपभोक्ता, व्यवसायी, लगानीकर्ता तथा सम्भावित साझेदारसमक्ष प्रस्तुत गर्ने अवसर पाउनेछन् । बी२बी तथा बी२सी नेटवर्किङलाई समेत प्राथमिकता दिइने आयोजकले जनाएको छ ।
एकदिने सम्मेलनमा महिला उद्यमशीलतासँग सम्बन्धित तीन विषयगत प्यानल आयोजना गरिनेछन् । व्यवसाय, वित्तीय क्षेत्र, प्रविधि, लगानी, पर्यटन, सूचना प्रविधि तथा निजी क्षेत्रका अनुभवी व्यक्तित्वले प्यानलमा सहभागिता जनाउनेछन् । महिला उद्यमीले भोगिरहेका चुनौती, लगानी तथा वित्तीय पहुँचका समस्या, प्रविधि र डिजिटल बजारको सम्भावना तथा व्यवसाय विस्तारका अवसरबारे प्यानलमा छलफल हुनेछ ।




