काठमाडौँ/युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगार बोर्डको सचिवालयका नवनियुक्त कार्यकारी निर्देशक निर्मल कुमार उप्रेतीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ। शपथ ग्रहण गर्दै उप्रेतीले नेपालको संविधान र प्रचलित कानुनको पालना गर्दै आफ्नो जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
मन्त्रालयले वैदेशिक रोजगार बोर्ड कार्यकारी निर्देशकको पदपूर्तिका लागि आवेदन खोली छनोट प्रक्रिया अघि बढाएको थियो। छनोट प्रक्रियाबाट सिफारिस गरिएका निर्मल कुमार उप्रेतीलाई साउन २६ गतेको मन्त्रीपरिषद् बैठकले कार्यकारी निर्देशकको पदमा नियुक्त गरेको थियो।
उप्रेती मानवअधिकार, आप्रवासन, सुशासन, शान्ति निर्माण र न्यायमा पहुँचका क्षेत्रमा झन्डै दुई दशकदेखि सक्रिय हुनुहुन्थ्यो। यसअघि उहाँले वैदेशिक रोजगार बोर्डअन्तर्गतको आप्रवासी स्रोत केन्द्रका व्यवस्थापक, प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)का उपकार्यक्रम निर्देशक र इन्सेकमा मानवअधिकारसम्बन्धी जिम्मेवारी सम्हाल्नु भएको थियो ।
Advertisement




