देवचुली/देवचुली उद्योग वाणिज्य संघले आफ्नो १३औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ । स्थापना दिवसको अवसरमा आयोजित सचेतनामूलक कार्यक्रममा महिला उद्यमी विकास समिति गठन गर्नुका साथै सकारात्मक सोच सम्बन्धी प्रेरणादायी प्रस्तुति समेत गरिएको थियो ।
कार्यक्रममा मनकामना हस्पिटलकी कविता खतिवडाले ‘सकारात्मक सोच’ विषयमा सचेतनामूलक प्रस्तुति दिनुभएको थियो। उहाँले सकारात्मक सोचले व्यक्तिको आत्मविश्वास, निर्णय क्षमता र कार्यसम्पादनमा प्रत्यक्ष प्रभाव पार्ने उल्लेख गर्दै चुनौतीलाई अवसरका रूपमा लिन सक्ने मानसिकताले मात्र दीर्घकालीन सफलता हासिल गर्न सकिने बताउनुभयो । उहाँले व्यवसाय सञ्चालनका क्रममा आउने उतारचढावलाई धैर्य, आत्मविश्वास र सकारात्मक दृष्टिकोणका साथ सामना गर्न सके व्यवसायलाई सफलताको मार्गमा अघि बढाउन सकिने धारणा राख्नुभयो ।
कार्यक्रममा संघका अध्यक्ष सत्यनारायण भुसालको अध्यक्षता तथा संघका संस्थापक अध्यक्ष धर्म बस्यालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा देवचुली नगरपालिकाका प्रवक्ता तिलप्रसाद काफ्ले, देवचुली–१२ का वडा अध्यक्ष लोकप्रसाद भुर्तेल, देवचुली–१३ का वडा अध्यक्ष एकदेव पौडेल, स्थानीय व्यवसायी तथा महिला उद्यमी लगायतको सहभागिता रहेको थियो ।





