काठमाडौं/प्रधानमन्त्री बालेन्द्र शाहले निजी क्षेत्रलाई अर्थतन्त्रको ‘ड्राइभिङ सिट’मा राखेर सरकार अघि बढ्ने स्पष्ट गर्दै उद्योगी–व्यवसायीमाथि धरपकड गर्ने कुनै नीति नरहेको बताएका छन्। सुस्त बनेको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीच निरन्तर सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले उद्योगी–व्यवसायीलाई ढुक्क भएर आफ्ना समस्या खुलस्त रूपमा राख्न आग्रह गरेका छन्। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब दुई घण्टा चलेको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रले भोगिरहेका कानूनी, नीतिगत तथा प्रशासनिक समस्याहरू प्रत्यक्ष रूपमा सुनेका थिए। समस्या समाधानलाई प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालयमै विशेष ‘सेल’ स्थापना गर्नसमेत आफू तयार रहेको उनले प्रतिबद्धता व्यक्त गरे। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले छलफल अत्यन्तै सकारात्मक र खुला वातावरणमा भएको बताए। उनका अनुसार निजी क्षेत्रले विगतदेखि उद्योग–व्यवसाय सञ्चालनमा देखिएका समस्या, नीतिगत जटिलता तथा सुधारका आवश्यकताबारे स्पष्ट रूपमा आफ्ना धारणा राखेको थियो। ‘हामीले उद्योग–व्यवसाय सञ्चालनका क्रममा भोगिरहेका सबै समस्या खुलस्त रूपमा राख्यौं। प्रधानमन्त्रीज्यूले पनि सरकारको उद्देश्य निजी क्षेत्रलाई दबाब दिने होइन, बरु अर्थतन्त्रको नेतृत्वदायी भूमिकामा राखेर अघि बढ्ने रहेको स्पष्ट पार्नुभयो,’ अग्रवालले भने। उनका अनुसार प्रधानमन्त्रीले सरकार र निजी क्षेत्रबीच नियमित संवादको संयन्त्र निर्माण गरी यस्ता छलफललाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
छलफलमा निजी क्षेत्रका तीन प्रमुख छाता संगठनका शीर्ष नेतृत्व सहभागी थिए। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष अन्जन श्रेष्ठ, उद्योग समितिका सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसंघ (सीएनआई)का निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल, महानिर्देशक डा. घनश्याम ओझा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल तथा वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा उपस्थित थिए। बैठक आयोजना गर्न सांसद विदुषी राणाले पहल गरेकी थिइन्। प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेपछि निजी क्षेत्रका प्रमुख छाता संगठनसँग औपचारिक रूपमा गरेको यो पहिलो संवाद हो। बैठकमा सरकार र निजी क्षेत्रबीच नियमित समन्वय, लगानीमैत्री वातावरण निर्माण, नीतिगत सुधार तथा सुस्त बनेको अर्थतन्त्रलाई पुनः गतिशील बनाउने विषयमा विस्तृत छलफल भएको सहभागीहरूले बताएका छन्।




