चितवन/अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा होटल सिद्धार्थ, नारायणगढ, चितवनमा करिब २५० भन्दा बढी साधक तथा सहभागीहरूको उपस्थितिमा विशेष योग कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसको मुख्य विषय ‘योग फर हेल्दी एजिङ’ (स्वस्थ र दीर्घायु जीवनका लागि योग) रहेको थियो। कार्यक्रममा वरिष्ठ अन्तर्राष्ट्रिय योग प्रशिक्षक तथा योग कोच आचार्य पवन नेपाल प्रमुख प्रशिक्षकका रूपमा सहभागी हुनुभएको थियो। उहाँले योग, ध्यान र प्राणायामको महत्त्वबारे प्रकाश पार्दै स्वस्थ बुढ्यौली, मानसिक शान्ति र समग्र स्वास्थ्यका लागि योग अपरिहार्य रहेको बताउनुभयो। साथै, आयुर्वेदमा वर्णित स्वास्थ्यको परिभाषा— “समदोषः समाग्निश्च समधातु मलक्रियः। प्रसन्नात्मेन्द्रियमनाः स्वस्थ इत्यभिधीयते॥” —को व्याख्या गर्दै शरीर, मन र आत्माको सन्तुलन नै वास्तविक स्वास्थ्य भएको उल्लेख गर्नुभयो। कार्यक्रममा सही आसन तथा शरीरको पोस्चर सुधार गर्ने तरिका, प्राणायाम गर्दा ध्यान दिनुपर्ने विषय तथा दैनिक जीवनमा योगलाई कसरी प्रभावकारी रूपमा अपनाउन सकिन्छ भन्ने विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो। उक्त कार्यक्रम इनर ह्विल क्लब अफ चितवन, आर्ट अफ लिभिङ तथा दिव्य स्पर्श योग र सिद्धार्थ होटलको संयुक्त आयोजनामा सम्पन्न भएको हो। कार्यक्रमलाई सफल बनाउन विभिन्न शिक्षक, स्वयंसेवक तथा सहयोगीहरूको महत्वपूर्ण योगदान रहेको थियो। कार्यक्रमका अन्त्यमा सहभागी सबैलाई स्वास्थ्य, खुशी र दीर्घायुको शुभकामना व्यक्त गर्दै योग, ध्यान तथा प्राणायामलाई दैनिक जीवनको अभिन्न अंग बनाउन आग्रह गरिएको थियो। कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको इनर ह्विल क्लब की अध्यक्ष अन्जु शर्मा ले बताउनु भएको छ।





