भरतपुर/चितवन उद्योग संघ, युवा उद्यमी मञ्चको आयोजनामा व्यवसायिक नेटवर्किङ र ज्ञान–साझेदारी कार्यक्रम सम्पन्न भएको छ ।
चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका अध्यक्ष भरत दवाडीले युवा उद्यमी मञ्चले औद्योगिक प्रबद्र्धनको क्षेत्रमा गरेका कार्यहरु र मञ्चको भावी योजनाको बारेमा प्रकाश पार्नुभएको थियो ।
व्यवसायिक नेटवर्किङ र ज्ञान–साझेदारी कार्यक्रम अन्तर्गत योकोगावा ब्रिज कर्पोरेशन (जापान) का विज्ञहरू र चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका प्रतिनिधिहरुबीच छलफल भएको थियो ।
चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका निर्देशक अनिष पौडेलले सहजीकरण गर्नुभएको छलफल कार्यक्रममा योकोगावा ब्रिज कर्पोरेशन (जापान) का महाप्रबन्धक डा. सुसुमु इनोकुची, वरिष्ठ प्रयोगशाला इन्जिनियर ताका कावाकामीले पुल इन्जिनियरिङ, नवप्रवर्तन र पूर्वाधार विकासमा केन्द्रित रहेर आफ्ना धारणाहरु राखेका थिए । छलफलमा महाप्रबन्धक डा. सुसुमु इनोकुचीले एकसय वर्ष भन्दा पुरानो उक्त कम्पनीमा आफ्नो युवाअवस्थादेखि तीसौं वर्षको त्याग, अनुभव र त्यस कम्पनीबाट आफ्नो जीवनमा महत्वपूर्ण लाभ मिलेको अनुभव समेत सुनाएका थिए । छलफलमा युवा उद्यमीहरुले राखेका जिज्ञासाहरुलाई योकोगावा ब्रिज कर्पोरेशन (जापान) का विज्ञहरूबाट समाधान समेत गरिएको थियो ।
चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका निर्देशक अनिष पौडेलले सञ्चालन गर्नुभएको व्यवसायिक नेटवर्किङ र ज्ञान–साझेदारी कार्यक्रमलाई चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका अध्यक्ष भरत दवाडीले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।





