भरतपुर/जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख र उद्योगीहरुबीच परिचयात्मक एवम् औद्योगिक प्रबद्र्धनको विषयमा छलफल सम्पन्न भएको छ । चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले स्वागत मन्तव्य सहित औद्योगिक प्रबद्र्धन सम्बन्धि संघको अभियान र कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको कार्यक्रममा प्रमुख व्यक्तित्व जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले चितवन आफ्नो कर्मथलो भएकोले यहाँको माटोसँग आफू परिचित रहेको बताउनुभयो । एसपी पौडेलले चितवनको औद्योगिक विकासका लागि पर्ने समस्याहरुलाई कानून सम्मत आफ्नो नेतृत्वले सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले उद्योग विना देशको विकास सम्भव नहुने भएकोले उद्योगलाई निर्वाद रुपमा सञ्चालन हुने व्यवस्था गर्न आफूहरुको सदैव तयार रहेको बताउनुभयो ।
छलफलमा चितवन उद्योग संघका पूर्व अध्यक्षहरु त्रिलोचन कँडेल, हरिप्रसाद सुवेदी, उपाध्यक्षहरु ताराबहादुर कार्की, परमेश्वर भण्डारी, कार्यसमिति सदस्यहरु दिपेश श्रेष्ठ, सरिता खनाल पौडेल, अर्जुन सापकोटा, सुबास पौडेल, महिला उद्यमी मञ्चकी सचिव गोमा कुमारी खड्का, कोषाध्यक्ष बिनिता बराल, कार्यसमिति सदस्यहरु हेमा पौडेल, बिन्दु शर्मा, कोपिला दाहाल लगायतको उपस्थिति रहेको थियो । चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारीले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।





