कक्षा १२ को वार्षिक परीक्षा आउँदो बैशाख १४ गते सोमबारदेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले औपचारिक रूपमा परीक्षा तालिका सार्वजनिक गर्दै परीक्षा बैशाख २७ गते आइतबारसम्म सञ्चालन हुने जनाएको हो।
साधारण, प्राविधिक तथा परम्परागत धारअन्तर्गत नियमित र आंशिक (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९, ८०, ८१ र ८२ भएका) परीक्षार्थीहरूका लागि परीक्षा सञ्चालन गरिनेछ।
पहिलो दिन वैशाख १४ गते अनिवार्य अङ्ग्रेजी नियमित विषयबाट परीक्षा सुरु हुनेछ। त्यसपछि नेपाली, अङ्ग्रेजी (आंशिक), सामाजिक अध्ययन तथा विभिन्न संकायका अनिवार्य र ऐच्छिक विषयहरू तोकिएको तालिकाअनुसार सञ्चालन गरिने बोर्डले जनाएको छ।
बोर्डले परीक्षार्थीलाई परीक्षा सुरु हुनुभन्दा कम्तीमा ३० मिनेटअघि केन्द्रमा उपस्थित हुन निर्देशन दिएको छ। परीक्षा सुरु भएको १५ मिनेटपछि आउनेलाई सहभागी गराइने छैन भने अनुपस्थित हुनेका लागि पुनः परीक्षा नहुने स्पष्ट गरिएको छ।
बोर्डका अनुसार परीक्षा प्रत्येक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। देशभरका परीक्षा केन्द्रमा एकै समयमा परीक्षा लिइने तयारी गरिएको छ।
यसअघि माध्यमिक शिक्षा परीक्षा (एसईई) भने आउँदो चैत्र १९ गतेदेखि सुरु हुने छ। बोर्डले परीक्षा व्यवस्थापन, केन्द्र निर्धारण र आवश्यक तयारी कार्य अन्तिम चरणमा पुगेको जनाएको छ।






